अस्ताए नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक

[pwa-install-button]

काठमाडौं। नेपाली कांग्रेसका सांसद् तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको शनिबार राति साढे ९ बजे ७५ बर्षको उमेरमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

केही हप्ता पहिले मात्र उनी भारतमा घाँटीको क्यान्सरको उपचार गरेर साउन दोस्रो साता नेपाल फिर्ता भएका थिए । त्यसपछि पनि स्वास्थ्यमा समस्या आएपछि साउन ९ गते उनी मेडिसिटीमा भर्ना भएका थिए ।

प्रदीप गिरिको जन्म २००४ सालामा सिराहाको बस्तीपुरमा भएको थियो । बुबा मित्रलाल गिरि र पुन्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

Sponsored Content

नेपालका सबैजसो शान्तिपूणर् राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए ।

बिपीसँग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए ।

०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी ०५६ को आमचुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदको रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज ०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् ।

त्यसपछि ०७४ मा भएको संघीय निर्वाचनमा उनी प्रत्यक्षतर्फ निर्वाचित भए । पटक-पटक सांसद बनेका गिरिमा सत्ता प्राप्तिको लालसा कहिल्यै देखिएन ।

गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

माओवादीको युद्धकालीन सर्कुलर : प्रदीप गिरिलाई अवरोध नगर्नू
तीन वर्ष तीन महिनामात्रै भएको थियो, माओवादीले युद्ध छेडेको । ०५६ वैशाख-जेठको दुई चरण चुनावमा प्रदीप गिरि नेपाली कांग्रेसबाट सिरहामा उम्मेदवार थिए । युद्धको उन्मादमा रहेका माओवादी कार्यकर्ताहरुलाई हेडक्वार्टरले सके चुनाव बिथोल्न, नसके बहिष्कार गर्न सर्कुलर पठाएको थियो ।

रुकुममा यदु गौतमलगायत उम्मेदवारहरु त्यसैबेला हो मारिएको । उनकी पत्नी तीर्था पछि एमालेबाट सांसद बनिन् । माओवादीको पहिलो तारो कांग्रेस थियो । नारा नै थियो माओवादीको, ‘कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी ।’

तर ‘कांग्रेस खोजीखोजी’ को बेलामा माओवादी नेतृत्वले आन्तरिक रुपमा सूचना पठाएर प्रदीप गिरिको चुनाव प्रचार अभियानमा दखल नपुर्‍याउन निर्देशन दियो । त्यो सूचना लिएर नेपाल आएका थिए, केन्द्रीय प्रकाशन विभाग प्रमुख मुमाराम खनाल ।

प्रदीप गिरि माओवादीलाई आतंकवादी नभई राजनीतिक शक्तिकै आँखाबाट हेरिनुपर्ने मत राख्थे । उनी त्यस्तो बेला यो मत दर्ज गरिरहेका थिए, जुन बेला पार्टीका एकछत्र शक्तिशाली नेता गिरिजाप्रसाद कोइराला थिए । अनि कोइराला त्यस बेला माओवादीप्रति वास्तवमै अनुदार । कोइराला प्रधानमन्त्री थिए, जसले आसन्न चुनावका लागि प्रतिद्वन्द्वी मानेका कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने आश्वासनसहित भोट मागिरहेका थिए ।

भट्टराई चाहिँ माओवादीलाई नरम आँखाले हेर्थे । पछि त उनले माओवादीका मुद्दा सम्बोधन गर्दै समाधान खोज्न शेरबहादुर देउवा नेतृत्वको कमिटी नै बनाए ।

प्रदीप गिरि किशुनजीका नजिक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्