निराजन ओझा, काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठले शैक्षिक सत्र २०७९/८० का लागि बिभिन्न बिषयमा नयाँ भर्ना खाेलेकाे छ। प्रदर्शनीमार्ग स्थित विद्यापीठमा ६ महिने कार्यक्रम अन्तर्गत प्राथमिक एवम् माध्यमिक कर्मकाण्ड प्रशिक्षण, योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण, संस्कृत भाषा प्रशिक्षण, प्राक्शास्त्री तथा शास्त्री शास्त्री प्रथम वर्षमा भर्ना खुलेको क्याम्पस प्रमुख प्रा.डा भागवत ढकालले बताए।

उनका अनुसार रूचिको विषयमा विद्यापीठ प्रशासनमा कार्यालय समयमा आवश्यक प्रमाणपत्र सहित उपस्थित भई नियमानुसारको शुल्क बुझाइ भर्ना हुन सकिनेछ।
विद्यापीठमा प्राक्शास्त्रअन्तर्गत अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष, शास्त्रीमा संस्कृत, अङ्ग्रेजी, नेपाली, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, ब्याकरण, नव्यन्याय, प्राचीनन्याय, साहित्य, सिद्धान्तज्योतिष, फलितज्योतिष, इतिहासपुराण, पूर्वमीमांसा, शाङ्कर वेदान्त, धर्मशास्त्र, सर्वदर्शन, तन्त्रयोग, बौद्धदर्शन, प्राच्यराजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, गणितलगायत पढाइ हुन्छ ।
आचार्यतर्फ चारै वेद, नव्यन्याय, प्राच्यराजशास्त्रलगायत विषय अध्यापन हुन्छ । अहिले छ महिने कोर्सअन्तर्गत कर्मकाण्ड र योग तथा प्राकृतिक चिकित्साको पनि पढाइ तथा अभ्यास हुँदै आएको छ । यस्ता कोर्समा पूर्वराष्ट्रसेवक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता हुने गरेको क्याम्पस प्रमुख ढकालको भनाइ छ ।
वाल्मीकि विद्यापीठ नेसंविका १४ आंगिक क्याम्पसमध्येको एक त्यस्तो क्याम्पस हो जहाँ अहिले पनि धर्मशास्त्र, ज्योतिष, वेद आदि विषयमा परामर्श लिन मानिसहरू आउने गरेका छन्।
२००९ सालमा ‘राजकीय संस्कृत महाविद्यालय’ का नाम दिइएको सो संस्था विसं २०२४ मा वाल्मीकि संस्कृत महाविद्यालय र २०३० सालपछि वाल्मीकि विद्यापीठ नामकरण भएको थियो । २०४३ सालमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको आंगिक विद्यापीठका रूपमा यसले मान्यता पाएको थियो ।
शास्त्री प्रथम वर्ष बाहेकका अन्य कार्यक्रम अपरान्ह ४ देखि ६ बजेसम्म सञ्चालित हुने क्याम्पस प्रशासनले बताएको छ । अरूको सुझाव, आफ्नै रुचि र रहरले संस्कृत विषय पढ्नेहरूको सङ्ख्या अहिले बढ्दै गएकाे छ।
