शब्दहरूको पिँजडा

दिवाकर भट्ट, काठमाडाैं।
जिन्दगीमा अस्तित्व खोज्न हिँडेको म
बरालिएछु शब्दहरूको गन्जागोल भित्र
कतै प्रेमील शब्द त
कतै बिछोडिएका।
कतै राजनैतिक त
कतै अराजनैतिक
र
केही नैतिक केही अनैतिक।
यिनै शब्दहरुको पिँजडामा
अल्झिएको
एक अस्तित्वहीन जिन्दगी
जस्तै तारहरु बीच टल्किन बाध्य
उज्यालोहिन चन्द्रमा।।
परेलीको आँशु बनेर
अधरको हासोँ बनेर
निरंकुशतामा लोकतन्त्र बनेर
पिँजडामा स्वतन्त्र बनेर
छरिएका शब्दहरू समेट्न खोजे
र
एक काव्य बनाउन खोजे
तर,
गजल कोर्न खोज्दा
काफिया मिलेन, रदिफ मिलेन
कोही पनि शब्दहरू सरिफ मिलेन,
कतिखेर अनुप्रास अनि बहर मिलेन
सपनाहरु सजाउन खोजे रहर मिलेन।
कविता श्रृङ्गार्न छन्द हरायो
अनि साहित्यको सुगन्ध हरायो
शेरहरु लेख्दा अनुप्रास हरायो
जिन्दगीमा कता कता भाव हरायो
त्यसैले
प्रयोग गरे शब्द फाल्न डस्टबिन आज
लाग्यो सारा शब्दकोश अर्थहीन आज।।