७ माघ २०७८, शुक्रबार
गृह काँक्रेविहार पर्खाल निर्माणमा बेवास्ता
काँक्रेविहार पर्खाल निर्माणमा बेवास्ता

कर्णाली । कर्णालीको पुरातात्विक पर्यटकीयस्थल काँक्रेविहारमा संरचना निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्ष छनोट गरिएको काँक्रेविहार कम्पाउन्डिङ पर्खाल आयोजनालाई प्रदेश सरकारले यस वर्ष निरन्तरता नदिँदा संरचना निर्माण कार्य अलपत्र परेको हो ।

गत आर्थिक वर्ष २०७६¬७७ मा पर्खाल निर्माणमा प्रदेश सरकारले रु चार करोड बजेट छुट्याएको थियो । असारमा आह्वान गरिएको बोलपत्र स्वीकृत नहुँदै आर्थिक वर्ष सकिएपछि उक्त बजेट फिर्ता भएको थियो । डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले कोरोना भाइरसका कारण समयमै बोलपत्र प्रक्रिया शुरु गर्न नसक्दा बजेट फिर्ता भएको बताए ।


प्रदेश सरकारले चालू आर्थिक वर्षमा सो शीर्षकमा बजेट छुट्याइएको छैन्। । बोलपत्र आह्वान भइसकेको आयोजनामा बजेट नहुँदा अन्योलता थपिएको छ । “बजेट नभएपछि बोलपत्र रद्द गर्ने वा मन्त्रालयबाट बजेट स्वीकृत भएपछि ठेक्का प्रक्रिया अघि बढाउने अन्योल छ,” उनले भने , “काँक्रेविहार संरक्षणजस्तो प्रदेशको महत्वपूर्ण योजनाले क्रमागत बजेट पनि नपाउनु दुर्भाग्य हो ।”

काँक्रेविहार गुरुयोजना अनुसार पर्खाल निर्माण (कम्पाउन्डिङ) का लागि रु २१ करोड लाग्ने अनुमान छ । प्रदेश सरकारले काँक्रेविहार पर्खाल निर्माणको साटो ‘पर्यापटकीय पूर्वाधार निर्माण’ शीर्षकमा रु दुई करोड बजेट छुट्याइएको छ । आयोजना कार्यान्वयन निकाय डिभिजन वन कार्यालयले प्रदेश सरकारले बजेट उपलब्ध गराए गत वर्षकै बोलपत्रअनुसार प्रक्रिया अघि बढाउन सकिने बताइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालयले तयार पारेको कार्यक्रम प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएको जनाएको छ । मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले गतवर्ष बोलपत्र भएकै रकम माग गरिएको बताउनुभयो । प्रदेशकै मुख्य पर्यटकीयस्थलमा परेको बजेटलाई कटौती गरिएको भन्दै स्थानीय जनप्रतिनिधिले आपत्ति जनाएका छन । प्रदेश सरकार प्रदेश राजधानीको विकासमा गम्भीर नभएको भन्दै तत्काल बजेटको सुनिश्चितता गर्न उनीहरुको माग छ ।

यसैबीच, पुरातत्व विभागले एकवर्ष अघि नै मन्दिर निर्माण पूरा गरेपनि फिनिसिङलगायत कार्य अधुरै छाडेको छ । विभागले विसं २०७४ जेठदेखि सिद्धबाबा कन्स्ट्रक्सन प्रालिलाई पुनःनिर्माणको जिम्मा दिएको थियो । मन्दिर फिनिसिङ, बगैँंचालगायत दोस्रो चरणका संरचना निर्माणका लागि पुरातत्व विभागले सोही कम्पनीलाई ठेक्का दिएको थियो । लकडाउनलाई कारण देखाउँदै कम्पनीले गतवर्ष उक्त काम पूरा गर्न नसकेको जनाएको छ । रासस

Facebook Comments

हरेक खबर खास खबर