२६ बैशाख २०७८, आईतवार
गृह ईपीएस भाषा परीक्षा सन् २०२१ मा मात्रै
ईपीएस भाषा परीक्षा सन् २०२१ मा मात्रै

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए ।

उहाँले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन÷चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताउनुभयो । उनले भने, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिकै परीक्षा हुन्छ तर तीन÷चार महिनायता सहज होलाजस्तो पनि देखिँदैन । ”

भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उहाँले थप्नुभयो । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।

कोरियामा कोरोना सङ्क्रमण नियन्त्रणतर्फ भए पनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौँ मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनुपर्छ भनेर कुनै पहल गरेको छैन ।

ईपीएस शाखाका अनुसार कोरोना सङ्कट सुरु भएयता एक हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दासमेत अहिलेसम्म कोरिया जान पाएका छैनन् । शाखाका अनुसार उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ ।

नेपालबाट वार्षिक औसतमा आठ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको नौ महिनामा एक हजार २७ जना नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ ।

सन् २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म चार हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गइसकेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत छन् ।  अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर