१२ माघ २०७८, बुधबार
गृह प्रधानमन्त्री निवासमा नयाँ सुरक्षा टोली खटाइयो
प्रधानमन्त्री निवासमा नयाँ सुरक्षा टोली खटाइयो

काठमाडौं । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली सेनाले सो टिमलाई बदली गरेको छ । संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन नगरपालिका–१ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ ।

सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । ठुलो संख्यामा सैनिक कर्मचारीलाई संक्रमण देखिएपछि प्रधानमन्त्री निवासमा नयाँ टिम खटाइएको छ ।


नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले क्वारेन्टाइनमा बसेका र पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई त्यहाँ खटाएको जानकारी दिए । हिजो साँझ प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी ६७ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो ।

संक्रमित प्रहरीमध्ये धेरैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । उपत्यकामा घर भएका प्रहरी कर्मचारी होम आइसोलेशनमा छन् । संक्रमित प्रहरीको स्थानमा प्रहरीचाहिँ आफ्नो टिम बदली गरेको छैन् । बालुवाटारमा पहिले खटिएका जनशक्तिबाट नै नियमित ड्युटी म्यानेज गरिएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए ।

सशस्त्र प्रहरी बलका संक्रमित प्रहरीलाई बलम्बुस्थित एपिएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता (डिआइजी) राजु अर्यालकाअनुसार संक्रमित सुरक्षाकर्मीको ठाउँमा नयाँ टिम खटाइएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर