१२ माघ २०७८, बुधबार
गृह देशभरीका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
देशभरीका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको माग पूरा गर्न सरकारले नटेरेको भन्दै शुक्रवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । संघले बुधवार एक विज्ञप्ति प्रकाशित गरी डा गोविन्द केसीसँग वार्ता गरी अनसन तोडाउन असोज १८ गते नेपाल सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराएको थियो ।

सत्याग्रह २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ता टोली पनि गठन नगरी बेवास्ता गरेको भन्दै चिकित्सक संघले विरोधका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको जनाएको छ ।


जसअनुसार भोलि २२ गते बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दूरी कायम गर्दै धर्ना गर्ने उल्लेख छ ।
साथै बिहीवार नै संघका शाखा कार्यालयहरुमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाएर अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने उल्लेख छ ।

उल्लेखित अवधिभर डा गोविन्द के।सीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराइएको अवस्थामा २३ गते शुक्रवार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको महासचिव डा बद्री रिजालले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

हरेक खबर खास खबर