१२ माघ २०७८, बुधबार
गृह आज विश्व दृष्टि दिवस, दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या
आज विश्व दृष्टि दिवस, दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या

काठमाडौं । आज विश्व दृष्टि दिवस । ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ नेपालमा पनि विश्वदृष्टि दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ ।

जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ । आँखा सेवाको पहुँच भएमा झण्डै एक अर्ब मानिसको अझै पनि दृष्टिको जगेर्ना गर्न सकिने आँकलन छ ।


नेपालमा कुल जनसङ्ख्याको शून्य दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको पछिल्लो तथ्याङ्क छ । यो समस्या सन् १९८१ को सर्वेक्षणमा शून्य दशमलव ८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए पनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको समस्या बढ्दो छ ।

अहिले कोभिड–१९ को जोखिमका कारण आँखाका बिरामी र समस्या अझ बढ्दै गएका छन् । कोरोना सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन स्वास्थ्य सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

दिवसका अवसरमा शुभकामना दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत रहेको बताएका छन् । उनले सरकारले लागू गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न पनि आग्रह गरे ।

Facebook Comments

हरेक खबर खास खबर