२ जेष्ठ २०७८, आईतवार
गृह चुनाव गर्ने नियत छैन, आन्दोलनमा जानैपर्छ:रामचन्द्र पौडेल पक्ष
चुनाव गर्ने नियत छैन, आन्दोलनमा जानैपर्छ:रामचन्द्र पौडेल पक्ष

काठमाडौं । प्रमुख विपक्षि दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले संसद विघटन गर्ने सरकारको कदम विरुद्ध आन्दोलनमा जानै पर्ने निष्कर्ष निकालेको छ ।

अनामनगरस्थित वरिष्ठ नेता पौडेलको सम्पर्क कार्यालयमा भएको बैठकले सरकारको कदम सरासर असंवैधानिक भएकाले तत्कालै आन्दोलनमा होमिनुपर्ने कुरामा सहमति जुटाएको हो। बैठकले सरकारको कदमलाई असंवैधानिक ठहर गर्दै तत्कालै माथिल्लोदेखि तललो तहसम्म आन्दोलनमा जाने कुरामा सहमति जुटाएको छ ।

बैठकमा सहभागी सबै नेता यसमा सहमत भएको जनाइएको छ । सरकारविरुद्ध आन्दोलनमा जान तयार नभएका सभापति शेरबहादुर देउवामाथि आजैको केन्द्रीय कमिटी बैठकमा दबाब बढाउने बताइएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्न भन्दा निरंकुशता लाद्न संसद विघटन गरेको ठहर गरेको छ । सेही कारण पनि कांग्रेसले आन्दोलनमा जानै पर्ने निचोडमा समूहले निकालेको हो ।

‘प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक हो पनि भन्‍ने तर जनताबीचमा गएर आन्दोलन पनि नगर्ने, यस्तो तरिकाले हुँदैन’, पौडेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी भएको नेताले भने, ‘चुनाव गर्नका लागि संसद विघटन भएकै होइन। हामी सबैले यही ढंगबाट कुरा गर्नुपर्छ, आजै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर सडकमा जानुपर्छ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर