२६ बैशाख २०७८, आईतवार
गृह संसद् विघटनविरुद्ध कांग्रेसले १३ गते देशभर आन्दोलन गर्ने
संसद् विघटनविरुद्ध कांग्रेसले १३ गते देशभर आन्दोलन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्घमा विरोध प्रदर्शन गर्ने भएको छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको हो ।

आगामी पुस १३ गते ती निर्वाचन क्षेत्रमा विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले विरोध प्रदर्शन काँग्रेस एक्लैले गर्न लागेको बताए । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा विरोध कार्यक्रम तय भएको र थप निर्णय हुने बताइएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध कायम गरेको आरोप खेप्दै आएका छन् । प्रधानमन्त्रीको कदमको विरोध भए पनि निर्वाचनमा जाने रणनीतिमा देउवा देखिएसँगै रामचन्द्र पौडेल पक्षधर नेताहरु कडा प्रतिवादमा उत्रिएका छन् ।

एकातिर काँग्रेसले ओलीको कदमको कडा आलोचना गरेको छ भने अर्कातिर चुनावमा जाने रणनीति पनि कतिपय नेताले बनाइरहेका छन् । निर्वाचनमा जाँदा घुमाउरो हिसाबले ओलीको कदमलाई समर्थन हुने देखिएको भन्दै त्यसको विरोध पनि भइरहेको छ ।

निर्वाचनमा जाने अथवा सडक आन्दोलनमा जाने भन्नेमा प्रष्ट नहँुदा काँग्रेसमा देउवा समूह र रामचन्द्र समूह बीच विवाद चुलिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर