२ जेष्ठ २०७८, आईतवार
गृह फ्रान्समा पनि भेटियो नयाँ स्वरुपको कोरोना
फ्रान्समा पनि भेटियो नयाँ स्वरुपको कोरोना

केही दिनअघि बेलायतमा पत्ता लागेको कोरोनाभाइरसको नयाँ स्वरुपबाट संक्रमित व्यक्ति फ्रान्समा पनि भेटिएका छन्।

द्रुत गतिमा सर्न सक्ने भनिएको नयाँ कोरोनाभाइरस बेलायतबाट फ्रान्स फर्किएका व्यक्तिमा पत्ता लागेको बताइएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार ती व्यक्ति टुअर्स शहरमा बस्छन् र १९ डिसेम्बरमा लन्डनबाट फर्किएका थिए।

ती व्यक्तिलाई कुनै लक्षण भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनलाई अहिले आइसोलेसनमा राखिएको छ। फ्रान्समा यो भाइरस थप फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप भेटिएपछि धेरै देशहरुले त्यहाँ यात्रा प्रतिबन्ध लगाएका छन्। फ्रान्सले पनि जहाज र यातायात सम्पर्क विच्छेद गरेको थियो। तर, सामान बोकेर सडकमै रोकिएका लरीलाई पनि गन्तव्यमा पुग्न दिने फ्रान्सले निर्णय गरेको थियो।

नयाँ स्वरुपको भाइरसको संक्रमण भएका व्यक्ति दक्षिण अफ्रिकामा पनि भेटिएका छन्। यो भाइरस बढी संक्रामक भएको पाइए पनि बढी घातक भने नभएको वैज्ञानिकहरुले बताएका छन्। तर, यसबारे थप अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाइ छ।

बेलायतमा यो भाइरसमाथि खोपको पनि परीक्षण भइरहेको छ। नयाँ भाइरस पत्ता लागेसँगै वैज्ञानिकहरु चिन्तित बनेका छन्। विकास भइरहेको खोपले काम गर्ने हो वा होइन भन्ने परीक्षणपछि मात्र भन्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर