२४ बैशाख २०७८, शुक्रबार
गृह औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?
औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?

काठमाडौं। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेचिएका सम्बन्धमा सरोकारवालासँग थप छलफलपछि निर्णय गर्ने भएको छ ।

समितिको आज सम्पन्न बैठकमा ‘खाद्य ऐन, २०२३, औषधि ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतका प्रत्यायोजित विधायनका साथै आहारपूरक खाद्य पदार्थको नियमन सम्बन्धमा थप छलफल आवश्यक रहेको समितिका सभापति रामनारायण विडारीले जानकारी दिए।

समितिमा औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । औषधि पसलले आहारपूरकका रुपमा रहेको खाद्यपदार्थ बेच्चेपछि खाद्य तथा गुणनियन्त्रण कार्यालयले असहमति जनाउँदै आएको छ ।

समितिका सदस्य राधेश्याम अधिकारीले खाद्यसँग जोडिएका औषधिजन्य पदार्थ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि विभागसँग समन्वयमा मात्र बेच्नुपर्ने बताए। उनले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँ बेच्दा नकरात्मक असर गर्ने भएको बताए।

अर्का सदस्य शान्तिकुमारी अधिकारीले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेच्न दिनका लागि दुवैको अनुमतिपत्र हुनुपर्ने बताए। खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य र औषधिको एकै ठाउँमा बेच्न नपाइने बताए।

उनले विभागले देशभरी ४३ स्थानबाट अनुगमन गरिरहेको भन्दै अब चाँडै स्थानीय तहसँग मिलेर अनुगमन गर्नसमेत लागिरहेको जानकारी दिए। नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले औषधि विभागमा दर्ता भएका औषधिलाई मात्र औषधि पसलले बेच्न दिनुपर्ने बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर