२ जेष्ठ २०७८, आईतवार
गृह जसपा औपचारिक विभाजनतर्फ, प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध ठाकुर पक्ष निर्वाचन आयोगमा
जसपा औपचारिक विभाजनतर्फ, प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध ठाकुर पक्ष निर्वाचन आयोगमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध निर्वाचन आयोग पुगेको छ।

चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसपाको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसद पदबाट हटाउन निवेदन दिएको थियो।

जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो। प्रदेश सभा सचिवालयले चारजनालाई बिहीबार पदमुक्त भएको सूचना टाँसेको थियो।

अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा दर्ता गराएको निवेदनको बोधार्थ प्रदेश सभा सचिवालयमा पनि पठाएका छन्।

चार सांसदलाई पदमुक्तको निर्णयसँगै जसपा औपचारिक विभाजनतर्फ उन्मुख भएको टिप्पणी गर्न थालिएको छ।

महन्थ ठाकुर र राजेन्द्र महतोले सांसदहरुलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय बदर गर्न माग गर्दै अदालतमा मुद्दा हाल्ने तयारी पनि गरेको जसपा स्रोतले बताएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर