२४ बैशाख २०७८, शुक्रबार
गृह वैकल्पिक सरकारबारे देउवा भन्छन्ः ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन’
वैकल्पिक सरकारबारे देउवा भन्छन्ः ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन’

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि आफुहरुसंग पर्याप्त संख्या नपुगेको बताएका छन्।

आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले यो विषय थाती रहेको उल्लेख गरे। उनले भने, ‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’

पत्रकार सम्मेलनमा देउवाले कोरोनासँग सम्वन्धी विषयमा पार्टीको धारणा र विचारहरूबारे लिखित मन्तव्य पेस गरेका थिए।

एक पत्रकारले सोधे, ‘अहिलेको सरकारले केही गर्न सकेन, तपाईंहरूको नेतृत्वमा वैकल्पिक सरकार आए यो समाधान हुन्थ्यो कि भन्ने जनताले अपेक्षा गरेका छन् । त्यो कति सम्भावना छ ?’ देउवाले झर्किँदै भने, ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ?’

जसपासँग तपाईंको कुरा भएको छैन भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘कुरा त भइरहेको छ नि, तपाईंहरुलाई सबै कुरा किन भन्ने ?’

Facebook Comments
+ posts

हरेक खबर खास खबर