२४ बैशाख २०७८, शुक्रबार
गृह लुम्बिनीमा मुख्यमन्त्रीको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना, सपथ गराए कानूनी उपचारमा जाने चेतावनी
लुम्बिनीमा मुख्यमन्त्रीको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना, सपथ गराए कानूनी उपचारमा जाने चेतावनी

बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त भएका शंकर पोखरेलको सपथ रोक्न माग गर्दै विपक्षी दलहरुले धर्ना दिएका छन्।

अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन्।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका छन्। विपक्षी दलका सांसदहरुले सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना दिएका छन्।

८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक पर्छ। विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेपछि एमालेमा ३७ सांसद मात्र भएका छन्।

सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् भने अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले अल्पमतमा पुगेको दलको नेतालाई थाहा हुँदाहुँदै मुख्यमन्त्रीमा नियुक्ति गर्नु सरासर असंवैधानिक र अनुचित भएको र आफूहरुले सपथ नगराउन माग गर्दा आधा घण्टा समय मागेपनि सपथ गराएरै छाड्ने संकेत आएको भन्दै यसको कानूनी उपचार खोज्ने बताए।

मुख्यमन्त्री पोखरेलले आज बिहान राजिनामा दिएपनि दिउँसो फेरी मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर