२४ बैशाख २०७८, शुक्रबार
गृह वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस
वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं। वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सरकारले सिफारिस गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले बताए।

प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने व्यवस्था छ।

हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन तर प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ।  २७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ।

नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ।

नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर