२ जेष्ठ २०७८, आईतवार
गृह प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने भएपछि विपक्षी दलहरुबीच फेरि अविश्वासले प्रस्ताव दर्ताको बहस सुरु गरेका छन्।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे टेलिफोन सम्वाद भएको थियो।

कांग्रेस सभापति देउवा निवास वूढानीलकण्ठमा बसेको पदाधिकारीहरुको बैठकमा ओलीको सम्भावित कदम र त्यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल भएको थियो।

बैठकमा नेताहरुले प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिने योजनाका साथ विशेष अधिवेशन नरोजेको दाबी गरेका छन्। संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउने र त्यसले पनि विश्वासको मत नपाएपछि संसद भंग गर्ने, मध्यावधि घोषणा गर्ने र अध्यादेशमार्फत बजेट ल्याउन खोजेको एक नेताले बताए।

त्यसरी घोषणा हुने चुनाव हुन्छ कि हुन्न भन्नेमा नेताहरूको बुझाइ फरक छ। चुनावमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले लुम्बिनी र गण्डकीमा अल्पमतमा पर्दा पनि सरकारमा टिकिराख्न ओलीले बल गरेको कतिपय नेताहरूको बुझाइ छ।

माओवादी केन्द्रका एक नेताका अनुसार नयाँ सरकार गठनका लागि बाटो खुला राख्न अहिले नै अविश्वासको प्रस्ताव दर्ता गरिराख्न कांग्रेस नेताहरुसँग छलफल भइरहेको छ ।

उनीहरुकाअनुसार अविश्वासको प्रस्ताव दर्ता गरिराख्दा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा अल्पमतको सरकार गठनलाई रोक्न सकिन्छ।

नेकपा एमालेमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने नयाँ बिकल्पमा छलफल चलिरहेको छ।

उनीहरुले राजीनामा दिएको अवस्थामा जनता समाजवादी पार्टी को महन्थ ठाकुर÷राजेन्द्र महतो पक्षले साथ दिँदा पनि प्रधानमन्त्री ओलीले २७ फागुनमा विश्वासको मत पाउन सक्दैनन्।

त्यो बेलामा प्राधनमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने लगायतका बाटो रोज्न सक्ने कांग्रेस र माओवादी नेताहरुको विश्लेषण छ। अहिले नै कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई/उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिराक्ने हो भने नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्न सहज हुने नेताहरुको दाबी छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर