१० असार २०७८, बिहीबार
गृह सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन काँग्रेस तयार, जसपाको सिँगो साथ वा नेपाल पक्षका सांसदको राजीनामा कुर्दै 
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन काँग्रेस तयार, जसपाको सिँगो साथ वा नेपाल पक्षका सांसदको राजीनामा कुर्दै 

काठमाडौं। विपक्षि दल नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको भएपनि अविश्वासको प्रस्ताव पारित हुनका लागि कम्तिमा पनि जसपाको सिँगो साथ पाउनुपर्ने वा माधव नेपाल पक्षधर सांसदहरुको राजीनामा आउनुपर्ने देउवाको अडान छ।


माधवकुमार नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिनेगरि तयारी थालेपछि देउवा यो निर्णयमा पुगेका हुन्। तर यता सत्तारुढ नेकपा एमालेभित्र भने पार्टी एकताको अन्तिम प्रयास भइरहेको छ। एमाले एकता कायम गर्न दुवै पक्षका दोस्रो तहका नेता आज पनि छलफलमा जुटेका छन्।

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ। एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने देउवाको आँकलन छ।

आज बस्ने कांग्रेस संसदीय दलको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गर्ने सम्भावना रहेको पनि बताइएको छ। त्यसअघि नै माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी छ।

कांग्रेस संसदीय दलको बैठकअघि नै एमाले सांसदहरुले सामुहिक राजीनामा दिने सहमति बनेको थियो। यद्यपि एमालेभित्र विभाजन रोक्ने र सहमति जुटाउने अन्तिम प्रयास चलिरहेको छ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ। विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्नैपर्ने दवावमा विपक्षी दलहरु रहेका छन्। माधव पक्षका केही नेताहरुले भने अविश्वास प्रस्ताव दर्ता भएपछि पनि राजीनामा दिन सकिने बताउँदै आएका छन्।

Facebook Comments

धर्मराज भट्ट खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।