३१ जेष्ठ २०७८, सोमबार
गृह प्रधानमन्त्रीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीटः माओवादीबाट आएका मन्त्रीको पद खोस्न माग
प्रधानमन्त्रीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीटः माओवादीबाट आएका मन्त्रीको पद खोस्न माग

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रीट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु, सन्तोष भण्डारी, लोकेन्द्र ओली लगायतले तीनवटा रिट निवेदन पेश गरेका हुन्।

सबै प्रशासनिक काम सकेर निवेदन दिइएको भएपनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको र सोमबार दर्ता गर्ने निर्णय भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले खासखबरलाई बताए। उनका अनुसार रीटमाथि मंगलबार सुनुवाइ हुने छ।


रीटमा बिभिन्न ५ वटा मागहरु गरिएको छ। गत शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले पुनः शपथ गराउन अन्तरिम आदेशको दिन रीट निवेदनमा माग गरिएको छ।

ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भइ शपथ लिने क्रममा ओलीले सोमबार राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भन्दै विवादस्पद रुपमा शपथ लिएका थिए।

शपथ ग्रहणको क्रममा राष्ट्रपतिलाई समेत निर्देशन दिँदा देश, जनता र संविधानको अपमान भएकाले पुुनः शपथ गराउन माग गरिएको ज्ञवालीले बताए।
यस्तै संघीय संसदको सदस्य नभएका सातजना मन्त्रीलाई पुनः नियुक्त गरिएकोप्रति पनि निवेदकहरुले प्रश्न उठाएका छन्।

संविधानको धारा ७६ अनुसारसंघीय संसदको सदस्य नभएको व्यक्ति अधिकतम ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा संघीय संसदको सस्यता प्राप्त नगरेमा स्वत पदमुक्त हुने व्यवस्था छ।

मओवादीबाट एमाले प्रवेश गरि आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा तामाङलगायतलाई ओलीले पुनः नियुक्ति गरेका छन्। निवेदकहरुले उक्त नियुक्ति पनि बदर गर्न माग गरेका छन्।

यस्तै संविधानको धारा ८० अनुसार प्रधानमन्त्री तथा मन्त्रीको शपथ संघीय कानुनअनुसार हुने भनिएको छ। तर अहिलेसम्म संघीय कानून नबनेको स्थितीमा तुरुन्त कानुन बनाउन परमादेश दिन पनि माग गरिएको छ।

यस्तै निवेदनमा ओलीले लिएको शपथ पूर्ण नभएकाले उनले पुनः शपथ ग्रहण नगरेसम्म प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ।

सम्बन्धित समाचार: सपथ खाँदै गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिकाउँदै भने ‘त्यो पर्दैन!'(भिडियो)

Facebook Comments
+ posts

धर्मराज भट्ट खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।