९ असार २०७८, बुधबार
गृह वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोडः कर संकलनमा डिजिटल प्रणाली प्रभावकारी
वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोडः कर संकलनमा डिजिटल प्रणाली प्रभावकारी

काठमाडौं । कर संकलनमा सरकारले अवलम्बन गरेको डिजिटल प्रणाली प्रभावकारी बन्नदै गएको छ । कर भुक्तानी प्रणाली नगदरहित बनाउन सरकारले डिजिटल माध्यमलाई प्राथमिकता दिएसँगै यसको प्रभावकारिता बढ्दै बढेको हो । कोभिड महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाका बीचमा पनि उत्साहजनक रूपमै राजस्व संकलन गरेको छ ।

कोभिड महामारी बढेपछि वैशाख दोस्रो सातादेखि काठमाडौंसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको थियो । यसबीचमा कर तिर्न करदातालाई आन्तरिक राजस्व विभागसहित मातहतका कार्यालयले ताकेता समेत गरेका थिए । तर निजीक्षेत्रले कर तिर्ने समय थप्न आह्वान गरे पनि सरकारले सुनुवाइ गरेन ।


सम्पूर्ण कर डिजिटल माध्यमबाट तिर्न ताकेता गरे । त्यसपछि कारबाहीमा पर्ने डरले पनि अधिकांशले समयमै कर तिरेका विभागका अधिकारीले बताएका छन्। ससरकारको ताकेतापछि करदाताले समयमै तिरेकाले वैशाखमा मात्रै ७७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।

वैशाखमा करतर्फ सरकारको आम्दानी ७२ अर्ब ९१ करोड २१ लाख रुपैयाँ भएको छ । यसमध्ये आन्तरिक राजस्व विभागले ३२ अर्ब ४० करोड राजस्व संकलन गरेको छ । यो महीना विभागले ३३ अर्ब ९९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।

विभागका अनुसार निषेधाज्ञाको बीचमा करदाताको सजिलोका लागि कनेक्ट आईपीस, ईसेवा जस्ता डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाइएको थियो । फलस्वरूप वैशाखमा राजस्व संकलन लक्ष्यको नजिक पुगेको राजस्व संकलन शाखाका उपमहानिर्देशक मुक्ति पाण्डयेले जनाएका छन्। विभागले चालू आवको १० महीनामा ३ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ३ खर्ब ४२ अर्ब संकलन भएको उनले बताएकाछन्।

सरकारी आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाखसम्ममा वार्षिक लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले निषेधाज्ञाको बीचमा सरकारको आम्दानी सन्तोषजनक नै रहेको बताए । कर भुक्तानीमा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनले यसमा टेवा पुगेको उनले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर