४ असार २०७८, शुक्रबार
गृह स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृह मन्त्रालय
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृह मन्त्रालय

काठमाडौं। स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जानकारी दिएको छ।

आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो।


गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार हुनु निन्दनीय कार्य हो ।’

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन्। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ। उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ।

चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन्।

Facebook Comments

हरेक खबर खास खबर