५ असार २०७८, शनिबार
गृह वीरेन्द्रको वंशनाश भएको २० बर्ष पूरा, घटना अँझै रहस्यमय
वीरेन्द्रको वंशनाश भएको २० बर्ष पूरा, घटना अँझै रहस्यमय

काठमाडौं। तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमै रहेको छ। मुलुकमा राजतन्त्र हटेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि जेठ १९ को छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।


पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो।

राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएका थिए। ज्ञानेन्द्र नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएर प्रतिवेदन सार्वजनिक गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर