५ असार २०७८, शनिबार
गृह सुदूरपश्चिममा एमाले ओली पक्षका सांसदको जवाफः पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीविरुद्ध मतदान गर्याैँ
सुदूरपश्चिममा एमाले ओली पक्षका सांसदको जवाफः पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीविरुद्ध मतदान गर्याैँ

काठमाडौं। नेकपा एमाले सुदूरपशिचमका ओली समूहका प्रदेशसभा सदस्यहरुले माधव पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन्।

विश्वासको मतमा मतदान गर्नै बेला मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ सांसदहरुले बुझाएको स्पष्टिकरणमा पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेको जवाफ दिएका छन्।


संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिंदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्रीविरुद्ध मतदान गरेको बताएका हुन्।

‘एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कमरेड कर्णबहादुर थापा र सचिव कमरेड राजेन्द्र रावलले जारी गरेको पत्रअनुसार प्रदेशसभा सदस्यहरुको अनिवार्य उपस्थिति गराइ मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत लिने प्रस्तावको विरुद्धमा मतदान गर्न केन्द्रको निर्देशन अनुसार ह्वीपको पालना गरी मैले पार्टी विधि, विधान, सिद्धान्त र निर्णय अनुसार नै मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारविरुद्ध मतदान गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ संसदीय दलका नेतालाई प्रदेशसभा सदस्यले बुझाएको पत्रमा भनिएको छ । साथै दलको ह्वीप उल्लंघन गरेको आरोप लगाएकोप्रति ध्यानाकर्षण भएको उनीहरुले बताएका छन्।

प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने समेत उनीहरुले उल्लेख गरेका छन्।

मंगलबार एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको ह्वीप विपरीत प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हालेको भन्दै ओली पक्षीय सात जनालाई स्पष्टीकरण सोधेका थिए।

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।

Facebook Comments

हरेक खबर खास खबर