४ असार २०७८, शुक्रबार
गृह गण्डकीमा २४ घण्टाभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
गण्डकीमा २४ घण्टाभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकि छिन्।

संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो।


प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकि हुन्।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।

ठूला दलका नेताको हैसियतमा गठन भएको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान हुनेछ।

१६८ (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ।

विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षर यसअघि नै तयार पारिएको दाबी गरेका छन्।

त्यसबाहेक खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका दीपक मनाङेले पनि विपक्षी गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् भने राष्ट्रिय जनमोर्चाका सांसद पदमुक्त भएपछि विपक्षी गठबन्धनलाई सहज हुने अनुमान गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर