१७ श्रावण २०७८, आईतवार
गृह उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु
उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु

उदयपुर। लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्।

बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ। बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।


तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए।

त्यस्तै स्थानीयवासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ। स्थानीय खोलाहरुमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए।

निरन्तर वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ । त्यस्तै त्रियुगा नगरपालिका—११ गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाइघाट बजारसमेत डुबानमा पर्न सक्ने जोखिम बढेको त्रियुगा नगरपालिका—११ ढिम्कीका शिब कार्कीले बताए।

Facebook Comments

हरेक खबर खास खबर