३ कार्तिक २०७८, बुधबार
गृह विप्लवका १ सय २५ बढी नेताकार्यकर्ता थुनामै
विप्लवका १ सय २५ बढी नेताकार्यकर्ता थुनामै

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए।


सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो।

सो सहमतिमा विप्लव समूहले शान्तिपूर्ण राजनीतिको मार्गमा आउने प्रतिबद्धता जनाएको थियो भने सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका नेताकार्यकर्ता छाड्ने भनेको थियो।

तर, सहमतिको चार महिना बित्दा पनि आफ्ना नेता कार्यकर्तालाई सरकारले थुनामुक्त नगरेको र कतिपयको मुद्दा नै चलिरहेको भन्दै सो समूहले सहमति कार्यान्वयन गर्दै थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई छाड्न सरकारसँग आग्रह गरेको हो।

हाल विप्लव समूहको दलका केन्द्रीय कमिटी सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन), चुडामणी ओली (आदर्श) र रणवीर थुनामा नै छन्। उनीहरूसहित १ सय २५ बढी नेता कार्यकर्ता थुनामा छन्।

विप्लव समूहका नेता प्रकाण्डले प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न १० दिनको समय दिँदै ध्यानाकर्षण गराइएको जानकारी दिए।

‘सहमति कार्यान्वयनमा सरकारबाट चासो देखाइएन, हामीले सरकारलाई सहमतिको पालनामा प्रतिबद्ध रहन आग्रह गर्दै १० दिनको समय दिएका छौं,’ विप्लव समूहका नेता प्रकाण्डले भने।

प्रधानमन्त्री ओलीले समेत सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको जवाफ दिएको प्रकाण्डले भनेका छन्। उनका अनुसार प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनको विषयमा पहल गर्न तत्कालीन वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई निर्देशनसमेत दिएका छन्।

यसैगरी, नेता बास्तोलाले प्रधानमन्त्रीले केही जटिलताका कुरा गरेको तर त्यसलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफूहरू आशावादी रहेको बताए ।

‘प्रधानमन्त्रीले केही जटिलताका कुरा गर्नुभयो तर त्यसलाई समाधान गर्ने प्रतिबद्धता पनि उहाँबाट आयो, हामीले छिटो समाधान खोज्नुस् भन्यौं,’ नेता बाँस्तोलाले भने।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले सामान्य प्रकृतिका अर्थात् जघन्य प्रकृतिबाहेकका घटनामा संलग्न रहेका विप्लव समूहका नेता कार्यकर्ता छुटेको तर अदालतमा मुद्दा चल्दै गरेका र पुर्पक्षमा पठाइएका भने छुट्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार १ सय २५ जना बढी नेताकार्यकर्ता छुट्न बाँकी छन्।

‘सामान्य प्रकृतिका घटनामा संलग्न रहेका छुटिसकेका छन्, जघन्य प्रकृति घटनामा संलग्न रहेका र अदालतमा मुद्दा चल्दै गरेका तथा पुर्पक्षमा पठाइएका भने छुट्न बाँकी छन्,’ नेपाल प्रहरीका प्रवक्ता कुँवरले भने।

उनले प्रहरी अनुसन्धानकै क्रममा रहेका कतिपय विप्लव समूहका नेताकार्यकर्ता सरकारसँगको सहमतिपछि छुटेको जानकारी दिएका हुन्। राजधानी दैनिक

 

Facebook Comments