१७ श्रावण २०७८, आईतवार
गृह वायु सेवा सञ्चालक भन्छन्ः सडकमार्ग अवरुद्ध छ, उडान संख्या थपौं
वायु सेवा सञ्चालक भन्छन्ः सडकमार्ग अवरुद्ध छ, उडान संख्या थपौं

काठमाडौं। बाढी र पहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा यात्रुहरूको यात्रा कष्टकर भएको भन्दै वायु सेवा सञ्चालकहरूले वैकल्पिक यातायातको रूपमा उडान संख्या थप्नुपर्ने बताएका छन्।

अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ। सर्वसाधारण यात्रुहरु विभिन्न ठाउँमा रोकिनु परेको छ भने आवतजावतमा निकै समस्या परेको बताउँदै उनीहरुले नेपाल वायु सेवा सञ्चालक संघले हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने बताएका छ।


‘उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडीको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ,’ वायु सेवा सञ्चालक संघले भनेको छ, ‘उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ।’

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले निषेधाज्ञा अगाडी झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोर दोहर गरेको रेकर्ड रहेको भन्दै उडान संख्या थपेर मात्र सस्तो र सुलभ हवाई उडान गर्न सकिने बताए।

वायु सेवा सञ्चालक संघले हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि पुष्टि गरेका बताउँदै संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिका पूर्ण कार्यान्वयन गरी सेवा दिने प्रतिवद्धता जनाएको छ।

‘विश्व स्वास्थ्य संगठनले पनि मास्कको प्रयोगबाट करोना नसर्ने पुष्टि गरेको छ,’ वायु सेवा सञ्चालक संघले भनेको छ, ‘ह्याण्ड सेनिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाईमा विशेष ध्यान दिएका छौं।’

Facebook Comments

हरेक खबर खास खबर