२२ मंसिर २०७८, बुधबार
गृह स्कुल पढ्ने बेलामै विवाह
स्कुल पढ्ने बेलामै विवाह

टीकापुर। कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन्। सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो। विवाहपछि दुवै जनाले पढाइ छाडे।

विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागेका थिए। किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने जिम्मेवारी थपियो। उमेर नपुग्दै विवाह गर्दा उनीहरुको पढाइ छुट्यो। कलिलै उमेरमा घरायसी काम, पारिवारिक जिम्मेवारी, बच्चाको स्याहार, आर्थिक भार थपियो।


भारतमा गएर कुबेरले होटलमा भाँडा माझ्ने काम गरेर घरमा सामान्य खर्च पठाउन थालिन् । कलिलै उमेरमा आमा बनेकी सुगन्धाले बच्चाको राम्ररी स्याहार गर्न नसक्दा बच्चा कुपोषित बन्यो। हाल बच्चा अस्वस्थ छ। “बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ। सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ”, सुगन्धाले भने, “हाल विवाह पछुतो भएको छ। भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन्। घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो।”

विगतमा उमेर नपुग्दै अभिभावकले गरिदिने मागी विवाह अहिले भागी प्रेम विवाहका नाममा बढ्दै गएको छ। विगतमा अभिभावकको मञ्जुरीमा उमेर नपुग्दै गरिने विवाह हाल माया प्रेमका नाममा बालबालिकाले आफैँ गर्न थाल्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ।

यसरी परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ। कैलालीका हरेक विद्यालयमा उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरी भेटिन्छन्। अझ पढ्दापढ्दै कक्षा ९/१० मा पढ्ने बालबालिका विवाहको बन्धनमा बाँधिएका देख्दा शिक्षकको मन दुख्छ तर मन दुखेर के गर्नु ? शिक्षकले सम्झाउने हो तर रोक्न सकेको अवस्था छैन। मोति मावि मोतिनगरका प्रधानाध्यापक दीपककुमार दास आफू विद्यालयमा सरुवा भएर आएको छ महिना पुगेको बताउँछन्।

“कक्षा १० मा ७ जना किशोरी विवाहित छन्, कक्षा १० पढ्नेको उमेर १६÷१७ भन्दा बढी त हुन्न”, प्रधानाध्यापक दासले भने, “विवाहित किशोरीलाई पढ्ने वातावरण हुँदैन। घरको काम गर्नुपर्दा उनीहरु पढाइमा पछाडि पर्छन्।”

प्रअ दास समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन्। “यसरी किशोरी विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नुहँदा बीचैमा छोड्छन्, विवाहबाटै उनीहरुको जीवन बर्बाद हुन्छ”, उनी भन्छन्, “एकजना शिक्षिकालाई बालविवाहविरुद्ध जनचेतना जगाउन सम्पर्क व्यक्तिका रूपमा तोकेका छौँ। नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन।”

बालविवाह कानूनीरूपमा अपराध हो। विद्यालयमा पनि बालविवाहविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रम हुन्छन् तर रोक्न सकिएको छैन। शिक्षकहरुले चेतना जगाउने काम गर्छन्। भृकुटी मावि सुवर्णपुरका प्रधानाध्यापक नृपराज भण्डारीका अनुसार हरेक वर्ष पाँच जनासम्म बालबालिका विवाहको बन्धनमा बाँधिन्छन्। “यतिखेर हाम्रो विद्यालयमा भर्ना अभियान चलिरहेको छ। चार जनाजति किशोरी भर्ना हुन आएनन्, किन नआएको भनी बुझ्दा विवाह भइसकेको जानकारी पायौँ”, प्रधानाध्याक भण्डारीले भने, “लकडाउनमा अझ विवाह बढेको छ । पढाइ छैन भन्दै केही किशोरी विवाह गरेर गएका छन्।”

विद्यालयको पाठ्यक्रममा पनि बालविवाह गर्नु हुँदैन भन्ने उल्लेख छ। गत वर्ष जानकी गाउँपालिकाको बालज्योति माध्यमिक विद्यालयमा अध्यनरत एक बालिकाको विवाहको निम्तो विद्यालयलाई आयो तर विद्यालयले त्यो विवाह बहिष्कार ग¥यो । विद्यालयले बालविवाहविरुद्ध जनचेतना जगाउने काम गरे पनि रोक्न सकेको छैन। प्रधानाध्यापक भोजराज चौधरी विद्यालयमै विवाहको निम्तो आएको तर आफूहरु भोज खान नगएको बताउँछन्। “हामीले कम उमेरमा हुने विवाहलाई बहिष्कार गर्ने हो। बहिष्कार ग¥यौँ”, प्रधानाध्यापक चौधरीले भने, “हामीले ज्ञान दिएर मात्र हुन्न, समाज, अभिभावक सबैले विवाह नै रोक्ने, कानूनी सजाय दिने काम नगरेसम्म रोक्न सकिँदैन।”

बालविवाह न्यूनीकरणका लागि स्थानीयस्तरमा विभिन्न सङ्घसंस्था र स्थानीय तहले पनि अभियान चलाइरहेका छन्। स्थानीय सरकारले कानूनी व्यवस्था बुझाउने, कम उमेरमा विवाह गर्दा अधिकार पाउन गाह्रो हुने कुरा जानकारी दिने गरेको छ। यसका साथै विद्यालयस्तरीय, अभिभावक र किशोरीलाई सचेतना फैलाउने कार्य गरिरहेको जानकी गाउँपालिकाका महिला बालबालिका शाखाका प्रमुख यमुना विष्ट बताउँछन्।

“बालविवाह समस्याका रूपमा बढ्दै गएको छ। हामीले बालविवाह न्यूनीकरणका लागि समुदायस्तरमा, विद्यालयमा कार्यक्रम निरन्तर गरिरहेका छौँ”, विष्टले भने, “चालु आर्थिक वर्षमा पनि अभिभावक र किशोरकिशोरीसँगै राखेर गर्ने खालका विभिन्न कार्यक्रम ल्याएका छौँ ।”

कानून व्यवसायी बालाराम भट्टराई बालविवाह गरेका बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने भएकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताउँछन्। कानून व्यवसायी भट्टराईले सुदूरपश्चिममा ४८ प्रतिशत बालबालिका बालविवाहको जोखिममा रहेका जानकारी दिए। “सुदूरपश्चिम देशैभरि कर्णालीपछि दोस्रो बालविवाह हुने प्रदेशमा पर्छ, उमेर नपुग्दै हुने विवाह समाज र राष्ट्रकै लागि समस्या हो”, भट्टराईले भने, “गरिबीले पनि विवाह बढेको छ । सुदूरमा २० दशमलव ९ प्रतिशत बालबालिका श्रमिकका रूपमा कार्यरत छन्।”

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बालविवाह न्यूनीकरणका लागि चेतनास्तर बढाउन आवश्यक रहेको बताउँछन् । “कानूनले बालविवाहलाई मान्यता दिँदैन, बालविवाहका असर धेरै छन्, कानूनी अधिकार नपाए जीवन असुरक्षित हुन्छ”, अध्यक्ष चौधरीले भने, “बालविवाह गर्नु अपराध हो भन्ने थाहा भएर पनि समाजले स्वीकारिरहनुले न्यूनीकरणमा चुनौती थपिएको छ।”

Facebook Comments

हरेक खबर खास खबर