२० श्रावण २०७८, बुधबार
गृह लुम्बिनीमा पनि सरकार परिवर्तनको तयारीमा विपक्षी गठबन्धन
लुम्बिनीमा पनि सरकार परिवर्तनको तयारीमा विपक्षी गठबन्धन

काठमाडौं। लुम्बिनी प्रदेशमा पुनः सरकार परिवर्तको कसरत शुरु भएको छ। केन्द्रमा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेसँगै लुम्बिनीमा पनि सरकार परिवर्तनको प्रयास थाल्ने संकेत देखिएको हो।

लुम्बिनीमा विपक्षी गठबन्धनले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले अनेक बहानाबाजी गर्दै आफ्नो सत्ता लम्ब्याइरहेको आरोप लगाउँदै आएको छ।


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले सरकार परिवर्तनको तयारी गरेको हो।

लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले प्रदेश सरकार फेरिने केही संकेत देखिए पनि आजभोलि नै परिवर्तनको सम्भावना नरहेको बताए।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको र आफूहरूसँग प्रस्ट बहुमत रहेको दाबी विपक्षी गठबन्धनले गर्दै आएको छ। सचेतक खानका अनुसार जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि केन्द्रमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले लुम्बिनीमा पनि सत्ता समीकरण फेरिन सक्छ। केन्द्रमा एमाले सरकार फेरिएपछि प्रदेशमा पनि सरकार फेर्न सहज हुने आकलन विपक्षी गठबन्धनको छ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चालगायत दलले लुम्बिनी प्रदेश प्रमुख यादवले संविधानको मर्म अनुसार निष्पक्षतापूर्वक काम नगरेको गुनासो केन्द्रसँग गरिरहेका छन्।

प्रदेश प्रमुख राजनीतिक पद भएकाले सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति गर्न सक्ने उनको भनाइ छ। वैशाखमा गठबन्धनले बहुमतको दाबी गरिरहेका बेला प्रदेश प्रमुख यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरी मुख्यमन्त्रीकै कार्यालयमा गएर शपथ गराएका कारण विपक्षी गठबन्धनसँग यादवको सम्बन्ध तिक्त बनेको थियो।

लुम्बिनी प्रदेशसभामा कुल ८३ सांसद छन्। तीमध्ये कांग्रेस र माओवादी केन्द्रका समान १९÷१९ जना छन्। माओवादीका १९ जनामध्ये सभामुख पनि पर्छन्। जसपाका ३ जना सांसद र राष्ट्रिय जनमोर्चाका १ जना छन्। लुम्बिनीमा विपक्षी गठबन्धनसँग ४२ जना सांसद छन्। मुख्यमन्त्री पोखरेलका पक्षमा एमालेका ३८ जना र जसपाका ३ जना गरी जम्मा ४१ जना मात्र सांसद छन् ।

Facebook Comments

हरेक खबर खास खबर