९ कार्तिक २०७८, मंगलवार
गृह सुरुमा प्रदर्शनमा आउने चलचित्रले १५ लाखसम्म नगद सहयोग पाउने
सुरुमा प्रदर्शनमा आउने चलचित्रले १५ लाखसम्म नगद सहयोग पाउने

काठमाडौं। कोरोना संक्रमणको जोखिम कम भएर सिनेमा हल खुलेपछि प्रदर्शनमा आउने चलचित्रलाई सरकारले सहयोग गर्ने भएको छ ।

हल खुलेपछि सुरुमा प्रदर्शनमा आउने चलचित्रलाई सरकारले १० लाख रुपौयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने तयारी गरेको छ ।


सुरुमा चलचित्र लगाउन जोखिम हुने भएका कारण निर्माताहरु डराउने भएकाले प्रोत्साहन स्वरुप सहयोग गर्न लागिएको चलचित्र विकास बोर्डका सदस्य अर्जुन कुमारले जानकारी दिए ।
“यति नै भनेर निश्चित भइसकेको छैन । तर १० देखि १५ लाख रुपैयाँ सहयोग गर्ने बोर्डको तयारी छ,” अर्जुन कुमार भन्छन्, “तर, यसका लागि केही मापदण्ड भने हुने छन् ।”

पहिलो चरणको लकडाउन अगाडि नै निर्माण सम्पन्न भइसकेर र पब्लिसिटी गरिसकेका चलचित्रले मात्रै उक्त सुविधा पाउने छन् । यस्ता चलचित्रमध्ये पनि सुरुमा प्रदर्शनमा आउने करिब आधा दर्जनले मात्रै यो सुविधा पाउने छन् ।

यो रकम भने बोर्डले निर्मातालाई नगद नै उपलब्ध गराउने छ ।
इन्कोडिङ, पब्लिसिटीलगायतमा केही छुट दिने बोर्डले यस अघि नै बोर्डले घोषणा गरिसकेको छ ।

‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘चपली हाइट’, ‘पानीफोटो’, ‘लक्का जवान’ लगायत चलचित्र पहिलो चरणको लकडाउन अगाडि नै निर्माण भइसकेका चलचित्र हुन् ।

अब सिनेमा हल खुलेपछि पनि दर्शक सिनेमा हलसम्म आउँछन् कि आउँदैनन् भन्ने आशंकाका कारण निर्माताहरु सुरुमा चलचित्र प्रदर्शन गर्न हिचकिचाउँछन् । त्यसैले बोर्डले जोखिम कम होस् भन्ने उद्देश्यले यस्तो सहयोग गर्ने भएको हो ।

Facebook Comments