१ आश्विन २०७८, शुक्रबार
गृह सत्तारूढ गठबन्धनले माधव नेपाल समूहलाई अझै शुक्रबारसम्म कुर्ने
सत्तारूढ गठबन्धनले माधव नेपाल समूहलाई अझै शुक्रबारसम्म कुर्ने

काठमाडौं। सत्तारूढ गठबन्धनले एमालेको माधव नेपाल समूहलाई अझै आगामी शुक्रबारसम्म कुर्ने भएको छ। मन्त्रिपरिषद् विस्तारका लागि नेपाल सरकारमा आउने नआउने सुनिश्चित गर्न शुक्रबारसम्म कुर्ने तयारी गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निणर्ायक भूमिका निर्वाह गरेका नेता नेपाललाई सकेसम्म सरकारमा ल्याउने सत्ता गठबन्धनका नेताहरूको जोड छ।

“माधवकुमार नेपालले केही दिन कुरौँ भन्नुभएको रहेछ। प्रचण्डले पनि यतिका दिन ढिला भइसक्यो केही दिन कुरौँ भन्नुभएको छ,” देउवा निकटका एक कांग्रेस नेताले भने, “प्रधानमन्त्रीज्यूले शुक्रबारसम्म कुर्ने भन्नुभएको छ।”


देउवाले सकेसम्म नेता नेपाल समूहसहित नभए अन्य दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेको ती नेताले बताए। उनका अनुसार देउवाले माधव नेपाल र प्रचण्डसँगको कुराकानीपछि यस्तो तयारी गरेका हुन्।

एमालेको नेपाल समूहले बिहीबार केन्द्रीय कमिटीको बैठक डाकेको छ। नेपाल समूहले केन्द्रीय समिति बैठकबाट औपचारिक निणर्य गरेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका हुन्।

देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरू सरकारमा जानु नहुने पक्षमा छन्। उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन्। तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै दबाब दिइरहेका छन।

यही द्वन्द्वकाबीच औपचारिक निणर्य गर्न नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा डाकिएको छ ।

नेता नेपाल समूह सरकारमा सहभागी भए नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६/६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।

Facebook Comments