९ कार्तिक २०७८, मंगलवार
गृह भरियामार्फत नेपाल भित्र्याइएको ३७ लाखको सुनसहित विमानस्थलबाट २ पक्राउ
भरियामार्फत नेपाल भित्र्याइएको ३७ लाखको सुनसहित विमानस्थलबाट २ पक्राउ

काठमाडौं। विमानस्थल प्रहरीले भरियामार्फत नेपाल ल्याइएको करिब आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गर्न सफल भएको हो।


प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढीमाई ८ घर भएका रिसब महतो विमानस्थलको आगमनतर्फको पार्किङ एरियामा बसिरहेका थिए।

निजको गतिविधि अस्वभाविक देखेपछि निगरानी बढाएको प्रहरीले साउदी अरबबाट आएका यात्रुलाई भरिया बनाई सुन ल्याएको खुल्न आएको हो।

प्रहरीका अनुसार साउदी अरबबाट जजिरा एयरलाइन्सको उडानमार्फत् काठमाडौं उत्रिएका विभिन्न व्यक्तिलाई भरिया बनाएर सुन ल्याएको पाइएको छ।

साउदीबाट काठमाडौं उत्रिएका विभिन्न यात्रुहरुले बाला र औँठी बनाएर ल्याएको र काठमाडौं उत्रिएपछि उनीहरुले महतोलाई दिने बित्तिकै प्रहरीले महतोलाई पक्राउ गरेको हो।

प्रहरीले महतोको साथबाट ८ थान बाला र २ थान सुनको औँठी बरामद गरेको छ। विदेशबाट आउने नागरिकलाई भरिया बनाएर भन्सार छली गरी सुन ल्याएको भन्दै कुल ४७४ ग्राम सुनसहित महतोलाई प्रहरीले पक्राउ गरेको थियो।

हालको मुल्यमा ३७ लाख ३८ हजार ६७५ रुपैयाँको भन्सार छलीको सुनसहित महतो पक्राउ परेपछि महतोको बयानका आधारमा अर्का एक व्यक्तिलार्य पनि पक्राउ गरिएको छ।

विमानस्थल प्रहरीका अनुसार महतोको बयानका आधारमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ घर भई तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस सञ्चालन गरिरहेका ४१ वर्षीय अम्बर चाम्लिङलाई समेत पक्राउ गरिएको हो।

Facebook Comments

हरेक खबर खास खबर