११ कार्तिक २०७८, बिहीबार
गृह माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक,मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक,मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार अपराह्न ४ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।

आजको बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन सक्ने उनले बताए।


सत्ता सञ्चालनका लागि गठित कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाएको छ।

कार्यदलको बिहीबार बसेको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेको थियो।

कार्यदलले आज शुक्रबार बिहान उक्त प्रतिवेदन सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाएको कार्यदलका एक सदस्य देव गुरुङले जानकारी दिए।

सो प्रतिवेदन बुझने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवा नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धनद्धारा सरकार सञ्चालनका लागि कार्यदल गठन गरिएको थियो।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्व रहेको कार्यदलले न्यूनतम् साझा कार्यक्रमका लागि निरन्तर छलफल गर्दै आएको थियो। न्यूनतम् साझा कार्यक्रमको टुङ्गो पश्चात् केही दिनभित्रै सरकारले पूर्णता पाउने जनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर