८ कार्तिक २०७८, सोमबार
गृह मौद्रिक नीतिका लागि पूर्व अर्थमन्त्रीहरूको सुझावः बैङ्कहरू मोटाउने र जनता गरिब हुने परिपाटी अन्त्य हुनुपर्छ
मौद्रिक नीतिका लागि पूर्व अर्थमन्त्रीहरूको सुझावः बैङ्कहरू मोटाउने र जनता गरिब हुने परिपाटी अन्त्य हुनुपर्छ

काठमाडौं। पूर्व अर्थमन्त्रीहरूले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई आफ्नो सुझाव दिएका छन्।

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आजको बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीहरू डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गरेका छन्।


पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैङ्क मोटाउन तथा देश र जनता गरिब हुँदै जाने अवस्था आएको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए।

यस्तै नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री बर्षमान पुनले पुनले उद्यमशीलताको क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रूपले सबल बनाउने गरी अघि बढ्न नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरे।

यता नयाँ मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई प्रतिनिधिसभाको अर्थ समितिले १७ बुँदे निर्देशन दिएको छ। शुक्रबार बसेको समिति बैठकले कोरोना महामारीका कारण थला परेका क्षेत्रलाई पुनरउत्थान हुने गरी मौद्रिक नीति ल्याउन निर्देशन दिएको हो।

निजी क्षेत्रले पनि पुनरउत्थान कर्जा र सहुलियत ऋणको कार्यक्रमसहितको मौद्रिक नीतिमा जोड दिइरहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर