७ माघ २०७८, शुक्रबार
गृह माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै
माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै

लमजुङ। गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै सोही दिनदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ। माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द छ। विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको आयोजनाले जनाएको छ।

आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार बर्खाको समयमा पूर्ण क्षमतामा विद्युतगृह चल्ने हुँदा दैनिक एक करोड रुपैयाँ बराबरको आम्दानी गुमिरहेको छ।


आयोजनामा क्षति पुगेका संरचना मर्मतका लागि थप रकम खर्च हुने अधिकारीले बताए। दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै दुई महिना लाग्ने आयोजनाले जनाएको छ।

आयोजनाको दुई महिनामा थप ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने देखिएको छ । बाढीले आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति पुर्‍याएको छ।

क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गरेर बदली गर्ने कम्पनीको तयारी छ। आयोजनाको अन्य संरचनामा अहिले पनि मर्मत कार्य जारी छ।

बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अब नयाँ संरचना राख्ने तयारी भएको जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए। चीनबाट नयाँ टर्मिनल ल्याउने तयारी भएको र पुरानोलाई पनि मर्मत गरिने अधिकारीको भनाइ छ ।

यस्तै, आयोजनाको बाँधदेखि पावरहाउससम्मको ११ केभी विद्युत् प्रसारण लाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको छ । बाढीले आयोजनाका केही उपकरणसमेत बगाएको थियो।

आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ। आयोजनाले २०७३ असोजदेखि विद्युत उत्पादन सुरु गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर