१ आश्विन २०७८, शुक्रबार
गृह अफगानिस्तानका पूर्व राष्ट्रपति गनी लाखौं डलर लिएर भागेको भन्ने आरोप निराधार ः देश छाड्नु मेरोलागि कठीन निर्णय थियो
अफगानिस्तानका पूर्व राष्ट्रपति गनी लाखौं डलर लिएर भागेको भन्ने आरोप निराधार ः देश छाड्नु मेरोलागि कठीन निर्णय थियो

काठमाडौं। अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले अफगानिस्तानबाट आफूले पैसा लिएर नभागेको बताएका छन्। उनले काबुल छाड्ने निर्णय आफूले सुरक्षा अधिकारीहरुको सल्लाहका आधारमा गरेको बताएका छन्। काबुलमा शान्ति कायम राख्नका लागि आफूसँग अन्य कुनै विकल्प नरहेको आफुले देश छाडेको बताएका छन्।

ट्वीटरमार्फत आफ्नो भनाइ राख्दै उनले भनेका छन्, ‘तालिबानले काबुल कब्जामा लिएपछि १५ अगस्टमा अचानक काबुल छाडेकोमा मैले अफगान नागरिकसमक्ष सफाइ दिनु पर्दछ । मैले महलका सुरक्षा अधिकारीहरुको सुझावका आधारमा त्यहाँबाट हिँड्ने फैसला गरेको थिएँ ।’गनीका अनुसार आफू काबुलमा रहनुको अर्थ सडकमा ९० को दशकमा गृहयुद्धको जस्तै संघर्ष निम्त्याउनु हुने बताए।


‘काबुल छाड्नु मेरो जीवनको सबैभन्दा कठिन फैसला थियो तर मलाई लाग्छ, बन्दुकहरुलाई शान्त राख्न र काबुलका ६० लाख नागरिकलाई बचाउने त्यही एक तरिका थियो,’ उनले भनेका छन्, ‘मैले अफगानिस्तानका नागरिकलाई एक लोकतान्त्रिक, समृद्ध र सम्प्रभु देश दिनका लागि आफ्नो जीवनको २० वर्ष खर्च गरेँ– मैले कहिल्यै पनि नागरिकलाई एक्लै छाड्नेबारे सोचेको थिइनँ ।’ उनले लाखौं डलर लिएर भागेको भन्ने आरोप निराधार रहेको बताएका छन्।

‘म र मेरी पत्नी हाम्रो खर्चका विषयमा इमानदार रह्यौं, मेरी पत्नीले आफ्नो पारिवारिक सम्पत्तिबाट जे प्राप्त भयो, त्यसको पनि जानकारी हामीले सार्वजनिक गरेका छौं,’ उनले भनेका छन्, ‘म संयुक्त राष्ट्रसंघ वा कुनै अर्को स्वतन्त्र संस्थाबाट अडिट गराउन तयार छु, मेरो निकट रहेका व्यक्ति पनि पैसासँग जोडिएका सम्पूर्ण जानकारीको अडिट गराउन तयार छन् र म सबै पूर्व राजनेता र अधिकारीहरुलाई यस्तै गर्न आग्रह गर्छु ।’

उनले राष्ट्रपतिका रुपमा आफूले सन्२००४ मा जारी संविधान अनुसार नै काम गरेको उल्लेख गरेका छान् । एक लोकतान्त्रिक गणतन्त्रले नै शान्ति र सम्प्रभु अफगानिस्तान बनाउन सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।उनले भनेका छन्, ‘मलाई यसको अफसोस छ कि मेरो च्याप्टर पनि मभन्दा अघिका राष्ट्रपतिहरुको जस्तै त्रासदीका साथ अन्त्य भयो, शान्ति र स्थिरता ल्याउनु बिना नै ।’त्यतिबेला उनी कहाँ गए भन्नेबारे कुनै जानकारी थिएन । पछि गनी स्वयंले आफू युएई पुगेको जानकारी दिएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर