१ आश्विन २०७८, शुक्रबार
गृह जाजरकोटमा ब्लड बैंक स्थापनाको रकम गायब, विरामी नेपालगञ्ज धाउन बाध्य
जाजरकोटमा ब्लड बैंक स्थापनाको रकम गायब, विरामी नेपालगञ्ज धाउन बाध्य

बिलिङ सिस्टमभन्दा अगाडिको पुर्जी र औषधिको हिसाब छैन 

जाजरकोट। स्वास्थ्य सेवा कार्यालयमा ब्लड बैंक स्थापना गर्न उठाएको रकम गायब भएको छ। कर्मचारी, जिल्ला विकास समिति र अन्य विभिन्न निकायबाट आव ०६९-७० मा उठाएको रकम गायब भएको हो।

जिल्लामा ब्लड बैंक नहुँदा समस्या परिरहने भएकाले जिल्लाका सरोकारवाला निकायको पहलमा रकम उठाएर स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराएको बजेट नै गायब भएपछि ब्लड बैंक स्थापना गर्ने कार्यक्रम अलपत्र परेको छ। अहिलेसम्म जिल्लामा ब्लड बैंक नहुँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैले रगत दिएर बिरामीको ज्यान जोगाउने काम भइरहेको छ।


जिल्ला विकास समितिले निर्णय नै गरेर ब्लड बैंक स्थापना गर्न एक लाख रुपैयाँ दिएको थियो। त्यस्तै, कर्मचारी तथा सरोकारवाला निकायलेसमेत आ–आफ्नो हिसाबले सहयोग गरेको भेरी नगरपालिकाका स्वास्थ्य शाखाका दीपक ओलीले बताए।

आफूले पनि १० हजार रुपैयाँ दिएको र सो विषयमा पटकपटक कुरा उठाउँदा पनि रकम फेला पर्न नसकेको ओलीले बताए। सहसचिव चक्रबहादुर बिसीले १५ हजार, नलगाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड कार्कीले १० हजार र जीवन प्रशिक्षक नरबहादुर कार्कीले २० हजार दिएका थिए। तर, त्यो रकमको अहिले खोजी भइरहेको उनको भनाइ छ। ब्लड बैंकका लागि युनिसेफले समेत केही रकम दिएको थियो।

विभिन्न सरोकारवाला निकायबाट झन्डै पाँच लाखभन्दा बढी रकम उठेको भए पनि त्यो पैसा स्वास्थ्य सेवा कार्यालयको कोसँग छ भन्ने जानकारी नै नभएको सरोकारवाला बताउँछन्। तत्कालीन समयमा सुरक्षित मातृत्व कार्यक्रम हेर्ने स्रोतव्यक्तिलाई नै सो रकमको बारेमा जानकारी भएकोसमेत बताएको छ। समन्वय तथा सहकार्य स्वास्थ्य कार्यालयका प्रमुखले गर्ने गरे पनि सो रकम कहाँ छ भन्ने अत्तोपत्तो नै छैन।

जिल्लामा ब्लड बैंक स्थापनाका लागि विभिन्न उपकरण आए पनि काम हुन सकेको छैन। बन्द कोठाभित्र ती उपकरण थन्क्याइएको छ। रगत अभाव हुनासाथ प्रहरी, सेना र सर्वसाधारण नै खाज्दै भौतारिनुपरेको छ।

माल भएर पनि चाल नपाउने स्वास्थ्य सेवा कार्यालयको रवैयाका कारण ब्लड बैंकको सामग्री भए पनि प्रयोगमा आउन सकेको छैन। लाखौं रकम पर्ने ती सामग्री बन्द कोठामा राख्दा खिया लागेर काम नलाग्ने अवस्थामा पुग्ने डर भएको कर्मचारीहरू बताउँछन्।

भएको सामग्रीको जतन गरी प्रयोगमा ल्याउनुका साथै सरोकारवाला निकायसँग सहकार्य गरी काम अगाडि बढाउन सके जिल्लालाई मात्र होइन, छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने सरोकारवालाको भनाइ छ। जतिपटक ब्लड बैंकको कुरा उठ्ने गरे पनि त्यो कुरामा मात्र सीमित हुने गरेको छ।

जिल्लामा आएको स्रोत सामग्री प्रयोग गर्न नसक्ने तर ‘ब्लड छैन, नेपालगञ्ज वा चौरजहारी विरामीलाई छिटो लिनुहोस्’ भन्दै लाखौं रकम खर्च गराउन स्वास्थ्य सेवा कार्यालय तल्लीन देखिन्छ। नामको मात्र ५० शैय्या रहेको जाजरकोटको स्वास्थ्य सेवा कार्यालयमा विकास, भौतिक निर्माणका लागि आएको बजेटसमेत होल्ड गरी बसेर मिति सकिन लाग्दा मात्र प्रक्रियामा जाँदा बर्षेनि फिर्ता हुँदै आएको छ।

बिलिङ सिस्टमभन्दा अगाडिको पुर्जी र औषधिको हिसाब छैन 

बिलिङ सिस्टम जडान गर्नुभन्दा पहिलाको लाखौ रुपैयाँ कहाँ गयो र कसले खर्च गर्‍यो भन्ने हिसाब नहुँदा स्वास्थ्य सेवा कार्यालय सो हिसाबको खोजी नै नगरी पन्छिएको छ। बिलिङ सिस्टम भेरी नगरपालिकाले जडान गरे पनि अहिले सिस्टममा आएपछि सो रकम दुरुपयोग हुने क्रम रोकिएको छ।

जसले रकम उठायो, उसैले गायब बनाउने परिपाटी मौलाएपछि नगरपालिकाले बिलिङ सिस्टमलाई प्रभावकारी बनाउन सफ्टवेयर जडान गरिदिएको छ। बिलिङ सिस्टमभन्दा अगाडिको रकम कहाँ कति दुरुपयोग भयो भन्ने एकीन हिसाब नहुँदा कुरा उठाउँदै, बीचमै छोड्दै गरेको अस्पताल विकास समितिका सदस्यहरु बताउँछन्।

Facebook Comments

हरेक खबर खास खबर