१ आश्विन २०७८, शुक्रबार
गृह गण्डकीमा दोहोरो थ्रेस होल्ड खारेज गरेर साना दललाई पनि सुविधा दिइदै
गण्डकीमा दोहोरो थ्रेस होल्ड खारेज गरेर साना दललाई पनि सुविधा दिइदै

पोखरा। गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले थप सुविधा पाउने भएका छन् । प्रदेश सरकारले साना दललाई लगाउँदै आएको दोहोरो थ्रेस होल्ड खारेज गरेर सुविधा दिन लागेको हो ।

सुविधासम्बन्धी संशोधन विधेयक संसदमा पेस भएको छ । संविधानले डेढ प्रतिशत थ्रेस होल्ड कटाउने राजनीतिक दललाई प्रदेशसभामा मान्यता दिने व्यवस्था गरे पनि गण्डकीमा त्यो थ्रेस होल्ड १० प्रतिशत कायम गरिएको थियो ।


दोहोरो मापदण्डका कारण राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसद सुविधाबाट बन्चित थिए । अहिले त्यो व्यवस्था संशोधन गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट गरेर संशोधन विधेयक ल्याइएको हो । जनमोर्चा र जसपा दुवैले डेढ प्रतिशत थ्रेस होल्ड कटाएका हुन् । जनमोर्चाले दुई सिट प्रत्यक्ष जितेको छ भने जसपाले एक सिट जितेको छ । यहाँ दुवै पार्टीका एक/एक जना समानुपातिक सांसद छन् ।

थ्रेस होल्ड हटाएसँगै दुवै पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक तोक्न र सोहीअनुसार सुविधा लिन पाउनेछन् । नयाँ सरकार गठनका बेला तत्कालीन गठबन्धनमा दोहोरो थ्रेस होल्ड हटाउने समझदारी बनेको थियो । तीन सांसद (हाल दुई) रहेको जनमोर्चाबाट खिमविक्रम शाहीलाई प्रदेशसभा मामिला सभापति बनाइएको छ भने दलका नेता वा प्रमुख सचेतकको सुविधा पियारी थापाले पाउनेछन् ।

दुई जना सांसद रहेको जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् । दलको प्रमुख सचेकको सुविधा अर्की सांसद धनमाया लामा पोखरेलले पाउने भएकी छन् ।

ऐन संशोधन भएपछि एमाले संसदीय दलका उपनेता किरण गुरुङले पनि थप सुविधा पाउनेछन् । सत्ताको नेतृत्वकर्ता दल नेपाल कांग्रेसले पनि यस अगाडि विपक्षी दलको नेता र प्रमुख सचेतकको हैसियतमा गाडी सुविधा लिँदै आएको थियो । अब हुने संशोधनले माओवादी केन्द्रका संसदीय दलका नेता र प्रमुख सचेतकलाई समेत सुविधा थपिनेछ । अहिले कांग्रेस र माओवादीका दुवै उपनेता मन्त्री छन् । तर, दुवैले उपनेता फेरेर सुविधामा दाबी गर्न सक्नेछन् ।

उपनेताले मासिक ५६ हजार ८४० रुपैयाँ पाउनेछन् । गण्डकीमा हाल सभामुखले मासिक ६१ हजार ४८०, उपसभामुख र विपक्षी दलको नेताले ५८ हजार, दलका नेताले मासिक ५७ हजार ५००, समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र दलको उपनेताले ५६ हजार ८४० रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ ।

यस्तै, प्रमुख सचेतकले ५५ हजार, सचेतकले ५४ हजार ५२० र सांसदले मासिक ५२ हजार २०० रुपैयाँ पारिश्रमिक पाउँछन् । पदाधिकारीहरूले निजी सचिवालय बन्दोबस्तीका लागि मासिक थप एक हजार ७५० रुपैयाँ पाउनेछन् ।

प्रतिमहिना ९० लिटर सवारी इन्धन पाउनेछन् भने प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल उपलब्ध हुनेछ । सबैले एक/एक वटा गाडी पाउनेछन् । विपक्षी सांसदहरूले भने सुविधा विधेयकको विरोध गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर