१ आश्विन २०७८, शुक्रबार
गृह मन्त्री बन्ने लालचमा जसपामा फेरि पार्टी फुटको त्रास
मन्त्री बन्ने लालचमा जसपामा फेरि पार्टी फुटको त्रास

सरकारमा सहभागी हुने नेताको नामावली टुंगो लाग्दै गर्दा अध्यक्ष उपेन्द्र यादवलाई जसपा फेरि विभाजन हुन त्रास छ।

प्रधानमन्त्री शेर बहादुर देउवाले दल विभाजनका लागि ल्याएको अध्यादेश अहिले पनि लागू नै छ। सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरेको थियो।


सोही अध्यादेशका कारण जसपाबाट विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा लोसपा गठन भइसकेको छ। तत्कालीन राजपा पृष्ठभूमिका नेताहरू जसपामा आउँदा अध्यक्ष यादवले सबैलाई मन्त्री बनाउने आश्वासन दिएका थिए। तर, जसपाले ६ मन्त्री मात्र पाउने भएकाले सबैलाई मन्त्री बनाउन सम्भावना छैन।

त्यसैले असन्तुष्ट सांसदले सोही अध्यादेशका कारण पुनः अर्को दल गठन गर्ने हो कि भन्ने त्रास अध्यक्ष यादवलाई रहेको छ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवले पहिला सो अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनुपर्ने पाँच दलीय गठबन्धनको बैठकमा माग गर्दै आएका छन्।

जसपाको संसदीय दलमा २१ जना सांसद रहेका छन्। राष्ट्रिय सभामा २ र प्रतिनिधिसभामा १९ जना सांसद जसपाको रहेको छ।

सत्तारूढ गठबन्धनका बीचमा भएको आन्तरिक सहमतिअनुसार जसपाले ६ मन्त्रालय पाउनेछ । मन्त्री बन्ने लोभ तथा बार्गेनिङ गरेर महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका केही सांसद जसपामा पुगेका छन्। जसपामा पनि असन्तुष्ट सांसदको संख्या ४ भए अहिलेकै अध्यादेशअनुसार नयाँ दल गठन गर्न सकिन्छ। राजधानी दैनिक

Facebook Comments