१ आश्विन २०७८, शुक्रबार
गृह सुनकोशी तेस्रो आयोजना निर्माण बंगलादेशले गर्ने
सुनकोशी तेस्रो आयोजना निर्माण बंगलादेशले गर्ने

काठमाडौं । नेपालले बंगलादेशलाई ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव गरेको छ । मंगलबार बसेको नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले सुनकोशी तेस्रो बंगलादेशलाई निर्माण गर्न दिने प्रस्ताव अनुमोदन गरेको छ।

सोमबार बसेको सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (.जेडब्लूसी) को बैठकले सुनकोशी तेस्रो र ६ सय मेगावाटको खिम्ती शिवालय जलविद्युत आयोजना निर्माणका लागि बंगलादेशलाई प्रस्ताव गरेको हो । भर्चुअल बैठकको नेतृत्व नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बंगलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले रहेका थिए । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले पाँच जलविद्युत आयोजनमध्ये पहिलो चरणमा सुनकोशी तेस्रोको अघि बढाउने गरी आगामी डिसेम्बरमा दुवै पक्षबाट भ्रमण गर्ने सहमति भएको बताएका छन्।


लोडसेन्टर काठमाडौँ बाट ७० किलोमिटर दुरीमा रहेको आयोजनाबाट उत्पादित बिजुली काठमाडांैका साथै ढल्केबरसम्म लैजान सकिने हुनाले यसलाई मुख्य आयोजनाको रुपमा लिइएको हो । विद्युत विकास विभागले अध्ययन गरिरहेको सो आयोजनाको अध्ययन अन्तिम चरणमा रहेको छ।

यसैगरी बैठकमा नेपालबाट बंगलादेशमा विद्युत व्यापार गर्ने आवश्यक तयारीका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकेको छ । बैठकमा सहभागी एक अधिकारीका अनुसार, हाल बंगलादेशले पीटीसीमार्फत दुई सय मेगावाट बिजुली आयात गरिरहेकोमा नेपालबाट पीटीसी र पीटीसीबाट बंगलादेश आयात गर्ने वा दुई देशबीच भारतसँग कूटनीतिक पहल गरी नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय बैठकमार्फत डेडिकेटेड प्रसारण लाइन निर्माण गरी अघि बढाउने दुई विकल्पबारे छलफल गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर