७ माघ २०७८, शुक्रबार
गृह कांग्रेसले टुंग्यायाे क्रियाशील सदस्यता विवाद, यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान
कांग्रेसले टुंग्यायाे क्रियाशील सदस्यता विवाद, यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको किचलो टुंग्याएको छ । क्रियाशील सदस्यताको विवाद ढिलो गरी टुंग्याएपछि निर्धारित निर्वाचन कार्यातालिकामा असर परेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आइतबार मात्रै समाधान गरेको हो । सदस्यता विवाद ढिलागरी टुंगिँदा भोलि (मंगलबार) का लागि तोकिएको २० जिल्लाको वडा अधिवेशन प्रभावित हुने देखिएको छ । २० जिल्लाबाहेक सात जिल्लाले मात्रै भोलि वडा अधिवेशन गर्ने तयारी गरेका छन् । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित नै भएको छैन ।


१३ जिल्लामा वडा अधिवेशन भोलि हुने सम्भावना छैन । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार बिहान सम्म क्रियाशील सदस्यता समितिमा आइनपुगेको बताए । उनले सदस्यताको विवरण समितिलाई प्राप्त भएपछि चाँडै जिल्लामा पठाइने जानकारी दिए ।

‘कार्यतालिका पुरानै हो, निर्वाचन अधिकृतले जिल्लामा छलफल गरेर अधिवेशन सुरु गर्नुहुन्छ,’ यादवले न्युज कारखानासँग भने, ‘वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा ९ असोजमा पालिका अधिवेशन हुन्छ, बाँकी जिल्लाको विस्तारै हुँदैगर्छ ।’ कार्यदलले गरेको ९ बुँदे सहमतिअनुसार विवाद भएका क्षेत्रमा नयाँ क्रियाशील सदस्यता स्वीकृत नगरेर १३ औं महाधिवेशनकै बेलाको क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्ने सहमति छ ।

उक्त सहमति कार्यान्वयन गर्न सदस्यता छानविन समितिका सदस्यहरू केन्द्रीय सदस्य आनन्द ढुंगाना, जीवन परियार र योगेन्द्र चौधरीलाई सहजिकरणको जिम्मा दिइएको छ । सहमति अनुसार २०७२ सालमा भएको १३ औं महाधिवेशनकै बेला अधिवेशन हुन नसकेको धनुषाको प्रतिनिधि सभा क्षेत्र नन्बर ५ को क्षेत्रीय अधिवेशन यसपालि गर्न नेतृत्वले विशेष पहल गर्ने सहमति पनि भएको छ ।

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ । क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ । सप्तरीको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ । सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको छ ।

रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो। त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरिएको छ । वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक लेखक, ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति भएको हो । लेखक संयोजक रहेको समितिले प्रदेश २ का बारा र सप्तरीको क्रियाशील सदस्यता फाइल नै खोलेको थिएन भने सर्लाही– २ र धनुषा–४ को विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।

धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र–४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका –१ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने सहमति भएको छ । क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन् ।

अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर दिने कार्यदलले सहमति गरेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीको

टीकापुर नगरपालिका–१ मा नयाँ सदस्यता स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ । नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेस गरेको सूची र क्षेत्रीय सभापतिले पेस गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो । त्यस्तै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका नेता मोहनसिंह राठौरलाई कांग्रेसको पुराना क्रियाशील सदस्यता संख्यामा शतप्रतिशतभन्दा नबढ्ने गरी कायम गर्ने समझदारी नेताहरुले गरेका छन् ।

कांग्रेस प्रवेश गरेका आशाराम चौधरीलाई १ सय २५ जना थप क्रियाशील सदस्यता दिने र समता पार्टीबाट बर्दगोरिया गाउँपालिकामा पाँच जना क्रियाशील सदस्यता थप गर्ने नेताहरुबीच सहमति भएको छ । कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ । बर्दियाको मधुवन नगरपालिका–३ मा अखण्ड नेपालबाट ३१ जनालाई क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ ।

डोल्पामा राप्रपाबाट प्रवेश गरेका कर्णबहादुर बुढालाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेकोमा समितिले जम्मा २ सय ५० सदस्यता स्वीकृत गरेको थियो । वडा अधिवेशनमा समायोजनबाट आएका व्यक्तिले जितेमा क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ । कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ ।

३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा भोलि वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । पालिका अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ ।

सातौंपटक संशोधन गरिएको कार्यतालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर