१२ माघ २०७८, बुधबार
गृह बेनी–जोमसोम सडक : ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता
बेनी–जोमसोम सडक : ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता

काठमाडौं।  म्याग्दी राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो।


हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो। सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए।

यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक श्याम रानाले बताए।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ। यो सडक २०६२र०६३ सालमा तत्कालिन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हा ।

बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत तीन वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ। तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा वर्षेनी यात्रीले सास्ती खेप्दै आउनुपरेको काभ्रेका तिलक रसाइलीले बताए।

भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो। सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ। यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

Facebook Comments

हरेक खबर खास खबर