१२ माघ २०७८, बुधबार
गृह तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो।

कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताएका छन् । उनका अनुसार भदौ तेस्रो साताबाट अक्सिजन उत्पादन सुरु गरिएको हो ।प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । “प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ”, उनले भने , “अस्पतालमै अक्सिजन उत्पादन सुरु भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।”


रु ७५ लाख बजेट प्राप्त भएकामा टेण्डरमार्फत रु ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले बताएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शङ्कर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना सङ्क्रमितको उपचार गरेको थियो ।

अस्पतालले आइसियु र भेन्टिलेटरसमेत सुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शय्याको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर