९ कार्तिक २०७८, मंगलवार
गृह आफ्नै पत्‍नीलाई भारतको वेश्यालयमा बेच्‍ने पुरुष पक्राउ
आफ्नै पत्‍नीलाई भारतको वेश्यालयमा बेच्‍ने पुरुष पक्राउ

काठमाडौं। आफ्नै पत्नीलाई भारतको वेश्यालय पुर्‍याएर बेचेको अभियोगमा पीडितका पतिसहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार पीडित महिलाका पति ३४ वर्षीय सुमित (नाम परिवर्तित) र नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का पासाङ तामाङलाई पक्राउ गरेको हो।

पीडित महिलाका पति सुमितले प्रेम सम्बन्धबाट विवाहपछि ५ सन्तानको जन्म भइसकेपछि २०७१ मा १ लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई जिम्मा लगाएको पाइएको छ। पासाङले ती पीडित महिलालाई काम लगाइदिन्छु भनी बालाजुको होटलमा लगेर एक महिलालाई जिम्मा लगाई फरार भएका थिए।


ती महिलाले घरयासी काममा लगाई मासिक १० हजार रुपैयाँ दिन्छु भनी आफ्नो कोठामा तीन दिनसम्म राखेर भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएको र उनले सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

म्हेण्डाले तीन दिनसम्म आफ्नो घरमा राखेर अर्का व्यक्तिको जिम्मा लगाई आग्राको वेश्यालयमा पुर्‍याएका थिए। पीडित महिलालाई नयाँदिल्लीस्थित नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा २०७८ जेठ ३१ गते उद्वार गरेको थियो।

पीडित महिलाले ब्यूरोमा भदौ १ गते दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोले पीडित महिलाका पति सहित दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ।

Facebook Comments

हरेक खबर खास खबर