९ कार्तिक २०७८, मंगलवार
गृह द्वन्द्व पीडितको पीडा : चाडपर्वले झनै मुटु चिरिन्छ
द्वन्द्व पीडितको पीडा : चाडपर्वले झनै मुटु चिरिन्छ

बागलुङ। नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएपछि सहर बजार, गाउँ घरमा चहल पहल बढेको छ। अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ। टीका थाप्न आउनेहरू हर्षित देखिन्छन्।

दसैँमा परिवारका सबै सदस्य एकै ठाउँमा हुने। मिठो मसिनो खाने र रमाउने परम्परा हो । काम विशेषले परिवारबाट टाढिएका आफन्त घर आउने उत्साहले धेरैको परिवारमा खुसी छाउछ। तर, बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति टीकाको दिन नजिकिँदै छ, उति उति मनमा दुःख र पीडा बढ्दै गएको छ।


तत्कालीन द्वन्द्वको समयमा बेपत्ता श्रीमान् सूर्यप्रसाद शर्माको कुनै खबर नहुँदा उनले विगत दुई दशकयता हाँसीखुसीले दसैँ मनाउन सकेकी छैनन्। बिस वर्षअघि १ माघ २०५८ मा राज्य पक्षले सोधपुछका लागि भन्दै शर्मालाई लगेको थियो । त्यसयता परिवार उनको अवस्थाबारे परिवार बेखबर छन्।

‘जतिजति चाडपर्व आउँछ उति–उति बेचैन लाग्छ’, जशोदा शर्माले भनिन्, ‘सबैका परिवारका सदस्य घर आउँदा, मेरो परिवारको बखरसमेत आउँदैन।’ चाडपर्वले झनै मुटु चिरिने उनको भनाइ छ। बेपत्ताको खबर सार्वजनिक नहुँदा परिवारका सदस्य झझल्कोमा बाँचेको शर्माले बताइन्।

‘न फोटोमा टीका लगाउन सक्छु, न अवस्थाबारे थाहा छ’, उनले भनिने, ‘सरकार हामीलाई दसैँ कहिले आउँछ।’ श्रीमानको अवस्था थाहा पाउन गुहार माग्दै संयुक्त राष्ट्र संघको मानव अधिकार समितिमासमेत पुगिन्। मानव अधिकार समितिले नेपाल सरकारको नाममा शर्माको परिवारलाई बेपत्ताको अवस्थाबारे जानकारी दिनु, दोषीलाई कारबही गरी सजाय दिनु, सूर्यप्रसाद शर्मा जीवितै भएमा तत्काल रिहा गर्नु, उनको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनु भने पनि सरकारले त्यसको कार्यान्वयन गरेको छैन।

‘दशैमा सबै खुसी हुन्छन्, मेरो परिवारमा पीडामा हुन्छौँ’, उनले भनिन्, ‘सरकारले सत्यतथ्य सार्वजनिक नगर्दा हामी अन्योलमा र्पयौँ।’
बागलुङको जैमिनी नगरपालिका राङखानीका बिमल केसीलाई पनि दसैँको खासै उत्साह छैन।

द्वन्द्वकालमा बेपत्ता छोराको अवस्थाबारे कुनै खबर नहुँदा उनलाई चाडपर्वले झनै पीडा थप्ने गर्छ। बेपत्ता गणेश केसीका दामलको गाउँ घरमा चहल पहल हुँदा छोरा सम्झिएर पटक पटक भक्काने छुट्ने केसीले बताए।

द्वन्द्व पीडितले मन बुझाएर चाडपर्व मनाउन सरकार जबाफदेही बन्नुपर्ने अधिवक्ता राम शर्माको भनाइ छ। द्वन्द्व पीडितले न्याय, परिपूरण, बेपत्ताको अवस्था सार्वजनिक र विस्थापितले सम्मानपूर्व बाच्ने अधिकारीको सुरक्षित गर्नुपर्नेमा उनको जोड छ।

बागलुङका द्वन्द्व पीडितले यस वर्षको दसैँमा दण्डहिनतालाई न्यायको लागि पीडितलाई सम्मानपूर्वक, वातावरणको लागि सरकारलाई मानव अधिकार, विधिको शासन, र जवाफदेहिताको लागि जिम्मेवारी प्रदान होस भन्ने शुभकामना दिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर