१८ मंसिर २०७८, शनिबार
गृह चाडबाडमा आकाशियो फलफूलको मूल्य, सरकारी पक्षले बजार नियमन नगर्दा उपभोक्ताहरु मारमा
चाडबाडमा आकाशियो फलफूलको मूल्य, सरकारी पक्षले बजार नियमन नगर्दा उपभोक्ताहरु मारमा

काठमाडौं। नेपालीहरूको महान चाड बडा दसैंको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।

काठमाडौं उपत्यकामा दसैंको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरूमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन्।


काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरूमा फलफूल किन्न पुगेका उपभोक्ताहरूले दसैंको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्यधिक बढेको बताएका छन्। उनीहरूको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन्।

एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरूको गुनासो छ। सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरू बताउँछन्।

फलफूल व्यापारीहरूले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् भने फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको बताएका छन्।

व्यापारीहरूले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरू नआउँदा केही महंगो भएको बताएका छन् ।

चाडबाडको समयमा बजार नियमन तथा आपूर्ति व्यवस्था सहज गर्ने जिम्मेवारी बोकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेतृत्वविहीन बनेको छ।

यहि २४ गते मन्त्री नियुक्त भएको ४८ घण्टा नबित्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा गजेन्द्रबहादुर हमालले राजिनामा दिनुभएसँगै मन्त्रालय नेतृत्वविहीन बनेको हो।

तर मन्त्रालयले भने अनुगमन नरोकिने दावी गरेको थियो । यसअघि खासखबरसँग कुराकानी गर्दै उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बजार अनुगमन निरन्तर जारी रहने दावी गरेका थिए।

चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च रहने भएकाले कालोबजारी, जम्माखोरी र नाफाखोरी व्यवसायीले मौका छोप्ने गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर