१८ मंसिर २०७८, शनिबार
गृह बाढी–पहिरोका कारण अवरुद्ध १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आएनन्
बाढी–पहिरोका कारण अवरुद्ध १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आएनन्

काठमाडौं। वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पनि पूर्णरूपले सञ्चालनमा आउन सकेका छैनन्।

सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ।


सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए।

उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र त्यसपछि मात्रै आवश्यक स्थानमा मर्मत र कालोपत्रेको काम गरिनेछ।

अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ठुलो काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ।

विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए। यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो।

यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए। तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन्।

Facebook Comments

हरेक खबर खास खबर