१८ मंसिर २०७८, शनिबार
गृह धर्म मा राजनीति की राजनीतिमा धर्म?
धर्म मा राजनीति की राजनीतिमा धर्म?

दिवाकर भट्ट। राजनीति आफैमा एउटा सुन्दर शब्द हो जसको अर्थ कुनै शब्दकोशमा खोजिरहनु पर्दैन बस् यसलाई सही दृष्टिकोणले हेर्नुपर्छ। मानव सभ्यताको विकास सँगै नेतृत्व लिने र नेतृत्व दिने प्रणालीको विकास मानव जगतमा मात्रै नभई संसारका हरेक जीवजन्तुमा विकास भएको देखिन्छ।कुनै समूह ,समाज होस् या देश, नेतृत्व जतापनि आवस्यक पर्छ नै।

जनावरहरूको बथानमा होस् या मान्छेको भीडमा जहाँ पनि एउटा नेतृत्वकर्ता चुनिएकै हुन्छ।नेतृत्व लिने र नेतृत्व दिने प्रक्रियाका प्रणालिहरु भने देश र समाज फरक फरक रही आएका छन्। एउटा कुशल नेतृत्वकर्ताले फरक फरक बाटोमा हिडिरहेका जनतालाई एक बाटोमा हिँडाउन सक्नु पर्छ।विचलित जनतलाई आफ्नो नेतृत्वदायी सीपले एकढिक्का पारेर एउटा राजनेताले देशमा राजनीतिको आभास दिलाउनु पर्छ।


संसारमा रहिआएका विकासोन्मुख राष्ट्रहरूका जनता धैर्यको बाँध लाई फोडेर छिट्टै समृद्धि हेर्न चाहन्छन् र उनीहरू हरेक कुरामा धेरै नै कन्फ्युज भएको देखिन्छ फलस्वरूप देशमा अस्थिरता छाउँछ। र त्यै समयमा त्यस्तो विकासोन्मुख राष्ट्रमा आवश्यक पर्छ एउटा कुशल नेतृत्व सीप भएको नेतृत्वकर्ता जसले पद मा बसेर होस् या बिना पदमै बसेर भएपनि जनतालाई विचलित हुन बाट रोकोस्।

त्यस्तै विकासोन्मुख राष्ट्रहरूमा हाम्रो देश नेपाल पनि एक हो जहाँ अक्सर राजनैतिक विचलन भएर राजनीतिमा अस्थिरता देखिदै आएको छ। हाम्रो पुर्खाको बलिदान र हजारौं सहिदहरुको रगत सँगै नेपालमा भर्खर जनताको संविधान आएको थियो तर त्यो संविधान ६,७ वर्ष बितिसक्दा पनि जनतको संविधान हो भनेर हाम्रो राजनेता हरुले जनतालाई आभास दिलाउन सकेका छैनन।

एउटै राजनेता अलग अलग शासन व्यवस्था मा राजनीति गर्छ भने त्यसले कुनै पनि शासन व्यवस्था राम्ररी बुझेको हुँदैन फलस्वरूप देशमा राजनैतिक विचलमहरु आउने गर्छन। त्यै राजनैतिक विचलनका कारण राजनीतिमा केही नौला तरंगहरू पनि देखिन थाल्छन्।

अहिले हाम्रो देश नेपालको राजनीतिमा तरंग ल्याउने एउटा अर्को विचार बनेको धार्मिक विचार।पुराना पार्टीहरुका केही नेताहरु र आफूलाई वैकल्पिक राजनीतिका राजनेता भन्ने नयाँ पार्टी हरुका नेताहरुले धर्मलाई लिएर जनमत संग्रह देखि नेपाल लाई हिन्दू राज्य बनाउने विचारहरू अघि सारेका छन्।

जसले गर्दा आफै विचलित भएका नेपाली जनताहरु झन् अर्को भ्रमको भुमरीमा फस्न बाध्य हुँदैछन्। राजनैतिक अस्थिरता ले गर्दा राजनीतिदेखि भ्रमित नेपाली जनताहरू र नेताहरु यो एउटा तरंगले झन् विचलित भएका छन् र के सही के गलत भन्ने निर्णय छुट्याउने साटोमा जता भीड त्यतै सबै उर्लिएका छन्। सनातन धर्म, आफैमा एउटा धर्म नभएर जीवन जिउने आधार हो,हरेक मान्छेको धर्म हो। सनातन हिन्दू धर्मका ग्रन्थहरू र हाम्रा संस्कार सभ्यताले हामीलाई एउटा असल नागरिक बन्ने प्रेरणा दिएका हुन्छन्।

यसैले यी संस्कार र सभ्यता हिन्दू धर्मालम्बीले मात्रै नभएर सबै मान्छेले हाम्रो हिन्दू धर्मका संस्कार सभ्यताको अनुसरण गर्नुपर्दछ भन्ने संसारका कयौ शिक्षाविद् हरुले भनिसकेका छन। हाम्रा धार्मिक ग्रन्थहरू बढीजसो राजनीति नै सिकाएका छन् जहाँ एउटा राजनेता र एउटा जनताको धर्म के हो भनेर सब्बैका आआफ्ना कर्तव्य हरु लेखिएका छन्।

तर यै मुद्दालाई लिएर सेन्टिमेन्टकाे राजनीति भने गर्नु हुँदैन। चाहे जोसुकै धर्म होस् र जोसुकै देश होस् धार्मिक मुद्दा लिएर राजनीति गर्दा देश भित्रबाट द्वन्दका भुमरीमा फसिसकेको हुन्छ। हामीले आआफ्नो धर्मलाई बचाउने पर्छ,हाम्रो संस्कृतिहरू लोप हुन बाट बचाउने जिम्मेवारी पनि हाम्रै हो तर तर कुनै धर्मबाट राजनीतिलाई भने टाढै राख्नु पर्छ।

धर्म मा राजनीति गर्नु हुँदैन तर राजनीति भने धर्ममा बसेर सही नियतले गर्नुपर्छ। हामीले आफ्नो धर्म संस्कृति बचाउने धार्मिक संघ संघठन हरु खोल्न सक्छौ सनातन हिन्दू धर्मले देखाएको बाटोलाई अनुसरण गर्दै अरूलाई पनि आफ्नो संस्कार संस्कृतिमा आकर्षित गर्न सक्छौ, हामी आफ्नो नित्यकर्म गरेर आफ्नो धर्म मान्न सक्छौ,हामीले जत्ति आफ्नो धर्मलाई मान्छौं त्यत्तिनै अरूको धर्मको सम्मान गर्नुपर्छ यथावत कुराहरू हाम्रो शास्त्रले सिकाउँछ तर हामीले अरूको धर्मलाई गलत बनाएर आफू मात्रै सही बन्नुपर्छ भनेर हाम्रो शास्त्रले कतै भनेको छैन। कुनै पनि देश विभाजन हुने प्रमुख कारण भनेकै राजनीतिक धार्मिक र जातीय मुद्दाहरू ल्याएर हो।

अरूको युद्धका घाउहरू छिट्टै बिलाएर जान्छन् तर धार्मिक र जातियताले लागेका घाउहरू बदलामा परिणत हुँदै जान्छन् जसको प्रमुख उदाहरण अहिलेको अफगानिस्तान लाई लिन सकिन्छ। समाजमा गणनाको हिसाबले जनसमुदायलाई जज गर्नु हुँदैन समाजमा हरेक मान्छेको उत्तिकै महत्त्व हुन्छ न की महत्त्व संख्या को हुन्छ। मुस्लिम राष्ट्रहरूमा हेपिएका हिन्दूहरू हुन या क्रिस्टियन हरु द्वारा हेपिएका मुस्लिमहरु सबैले न्याय पाउनुपर्छ। सबैको आआफ्नो धर्म मान्ने अधिकार हुन्छ र पाउनुपर्छ।

नेपाल बहुधार्मिक बहुसांस्कृतिक बहुभाषिक राष्ट्र हो र जहाँ अनेकतामा एकता छ भनेर विश्वमा नेपालको अलग्गै नाम छ त्यसैलाई अनुसरण गर्दै र सब्बैलाई बराबर आदर सम्मान दिँदै नेपाली जनताहरु हिँड्नुपर्छ र केही सानो कुरामा विचलित जनताहरूलाई एकढिक्का पारेर आफ्नो शासन प्रक्रिया ठीक छ हाम्रा पुर्खाले देखाएको बाटो ठीक छ भन्ने आस दिलाउँदै एउटा नेतृत्वकर्ता हिँड्नुपर्छ न कि हल्लाको भरमा दौडिनु पर्छ।

त्यसैले धर्म र राजनीति अलग कुरा हुन् धार्मिक जीवन र राजनैतिक जीवन फरक कुरा हुन्,हरेक मान्छेले आफ्नो धर्मको जग्रेना गर्नुपर्छ तर कुनै पनि मान्छेले सेन्टिमेन्ट लाई लिएर तत्कालको खुसी हेर्नु हुँदैन दीर्घकालीन योजना बनाएर आगाडि बढ्नुपर्छ। र धर्मको नाममा सेन्टिमेन्टल भोट माग्ने नेता होस् या धर्मलाई बेचेर डलर कमाउने एनजीओ/आइएनजिओ हुन सबैलाई पाखा लगाउँदै हामीले अब समृद्धिको यात्रामा लम्किनुपर्छ जहाँ हाम्रा मुद्दाहरु जात धर्म बाट टाढा रही गुणस्तर शिक्षा,स्वास्थ्य,रोजगारी,जनताको ह्याप्पीनेस इन्डेक्स,जनताको जीवनस्तर आदि आदि हुनुपर्छ।

Facebook Comments

हरेक खबर खास खबर