१८ मंसिर २०७८, शनिबार
गृह लकडाउन असरः ३ सय श्रमिकले घर जान पाएनन्
लकडाउन असरः ३ सय श्रमिकले घर जान पाएनन्

परासी । कोरोना (कोभिड–१९) संक्रमणबाट सुरक्षित रहन सरकारले लकडाउन गरेसँगै पश्चिम नवलपरासीका उद्योग, कलकारखानालगायत विभिन्न क्षेत्रमा काम गर्ने करिब ३ सय श्रमिक घर फर्कन पाएका छैनन् । श्रमिकहरुले घर फर्कन चाहेको बताएपनि सवारीसाधन नचलेका कारण सम्बन्धित क्षेत्रले पठाउन नसकेका हुन् । जिल्लामा उद्योग, सडक र भवन निर्माणमा काम गर्ने श्रमिकहरु लकडाउनसँगै घर फर्कन नपाएर समस्यामा परेका छन् ।

त्यसरी घर फर्कन चाहानेमा भारतीय र नेपाली श्रमिक छन् । केही उद्योग र कलकारखानाले लकडाउनको सूचना पाएसँगै श्रमिकहरुलाई घर पठाएका थिए । केहीले भने श्रमिकलाई पठाउन सकेका थिएनन् । बुटवल सिमेन्ट उद्योगका सहायक प्रबन्धक विनोद प्रसाद सुवेदीले उद्योगका करिब १५ जना भारतीय र २० जना नेपालीहरु घर जान नपाएको बताए । घर जान नपाएका नेपालीहरु पाल्पा, अर्घखाँची, चितवनलगायतका छन् ।


सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले नगर क्षेत्रमा निर्माण भएको शितभण्डार, सडक र होटलमा काम गर्ने करिब ७० बढी श्रमिकहरु घर जान नपाएको बताए । उनीहरु विभिन्न जिल्लाका छन् । घर पठाउनका लागि शुक्रबारदेखि पासको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरेपनि व्यवस्था हुन नसकेको उनले बताए । जिल्लामा करिब ३ सय बढी श्रमिहरु घर जान नपाएर अलपत्र जस्तै भएर बसेको थापाको भनाई छ । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्ड बर्दघाटका प्रवक्ता युवराज पाण्डेले केही श्रमिकहरु लकडाउन अघि नै गइसकेको र करिब १५ बढी नेपाली कामदारहरु जान नपाएको बताए ।

सरकारले उद्योग कलकारखाना बन्द भएपछि मुलुकभित्रै अप्ठ्यारोमा परेका श्रमिकहरुलाई घरसम्म पु¥याउने व्यवस्था मिलाउने जनाएको छ । नोभेल कोरोना –कोभिड–१९) रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय सम्वन्वय समितिको शुक्रबार सम्पन्न बैठकले श्रमिकहरुलाई घर पठाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म जिल्लामा अप्ठ्यारोमा परेका श्रमिकहरुलाई घर लैजाने व्यवस्था मिलाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले मन्त्रालयबाट अहिलेसम्म परिपत्र नआएपनि घर जान चाहाने श्रमिकहरुको तथ्यांक सम्बन्धित क्षेत्रले उपलब्ध गराए त्यसको व्यवस्था गर्ने बताए । नेपाली श्रमिकहरुलाई घर पठाउन सकिने भएपनि भारतीयहरुको हकमा भने घर पठाउन नसकिने दाहालको भनाई छ । घर पठाउने उद्योग वा कलकारखानाले सवारीसाधनको व्यवस्था आफैं गर्नुपर्ने छ । घर जाने श्रमिकहरुले भने न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने छ । उद्योगहरुले ट्रक र टिपरमा श्रमिकहरु लैजाने पाउने छैनन् । बसको व्यवस्था आफैं गर्नुपर्ने छ । मानिसको भिड गरेर लैजान पाइदैन । जानुअघि सर्जिकल मास्कसहित स्वास्थ्य परीक्षण गरिने छ । स्वस्थ रहेमा सुरक्षाकर्मीको निगरानीमा घर पठाइने जिल्ला प्रशासनले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर