१८ मंसिर २०७८, शनिबार
गृह बुटवलको कोरोना अस्पतालमा भएको मृत्युबारे छानबिन गर्न माग
बुटवलको कोरोना अस्पतालमा भएको मृत्युबारे छानबिन गर्न माग

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको विषयमा छानबिन गर्न विभिन्न राजनीतिक दलहरुले माग गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ वर्षिय बाबुराम थापाको कोरोना अस्पतालमा भएको मृत्युको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानबिन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सांसद फखरुद्दिन खान र रमा अर्यालले थापाको उपचारमा अस्पतालको गम्भीर लापरवाही भएको भन्दै सर्वपक्षीय स्वतन्त्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् । त्यस्तै दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहत प्याकेजको व्यवस्था गरी मृतकको शब उठाउने वातावरण बनाउन उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।


उनीहरुले मृतक परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गर्दै दुईजना नाबालक छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने समेत माग गरेका छन् ।

यस्तै समाजवादी पार्टी प्रदेश ५ समितिले पनि ‘कोरोना विशेष’ अस्पतालमा ज्यान गुमाउनु सरकारको लापरवाही भएको ठहर गरेको छ । पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि १२ वटै जिल्लाको सूचना संकलन, विश्लेषण र रणनीति बनाउन, खर्च व्यवस्थापन पारदर्शी बनाउन सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाउन माग गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर